८८ हजार कोरोना संक्रमित घरमै : कसरी बसेका छन्, सरकार बेखबर
फाइल तस्वीर

हरिनारायण शर्मा तीन दिनदेखि होम आइसोलेसनमा बसिरहेका छन् । ज्वरो, रुघा खोकी लागेपछि उनले टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गएर स्वास्थ्य परीक्षण गराए । उनको मोबाइलमा कोरोना संक्रमण पोजेटिभको रिपोर्ट आयो । त्यसपछि उनी निकै आत्तिए । 

अहिले परिवारका सबै सदस्य ज्वरो, रुखा, खोकीबाट ग्रसित छन् । मोबाइलमा रिपोर्ट पोजेटिभ भनेर रिपोर्ट मात्र आयो । त्यसपछि के गर्ने ? कसरी बस्ने ? उनलाई केही थाहा भएन् ।

उनी आफैंले साथीभाइलाई सोधेर घरको छुट्टै कोठामा बसिरहेका छन् । आफ्नोबारे स्वास्थ्य मन्त्रालयको हटलाइन सेवा ११३३ मा फोन गरे । तर, त्यहाँबाट पनि कुनै रिस्पोन्स आएन् ।

उनीजस्तै कलंकीका उमेश यादवको पनि पीसीआर रिपोर्ट पोजेटिभ आयो । उनको पनि मोबाईलमा रिपोर्ट पोजेटिभको म्यासेज आयो । त्यसपछि न स्वास्थ्य मन्त्रालयका कुनै अधिकारीको फोन आयो न त स्थानीय तहबाट । उनी ६ दिनदेखि होम आइसोलेसनमा बसिरहेका छन् ।

उनको फोनमा पोजेटिभ रिपोर्ट आएपछि लागेका थियो, कही कतैबाट फोन गरेर स्वाथ्य अवस्था कस्तो छ ? कसरी बसिराख्नु भएको छ ? संस्थागत आइसोलेसनमा बस्नुपर्छ कि ? जस्ता कुरा सोध्छन् भन्ने लागेको थियो । तर, अहिले त उनी स्वस्थ्य हुन थालिसके । तर, कति कतैबाट सोधपुछ समेत भएन् ।

यति मात्र नभएर उनको रिपोर्ट पोजेटिभ आएपछि कन्ट्याक्ट ट्रेसिङ गर्नलाई स्थानीय तहबाट मानिस आउँछन् होला भन्ने लागेको थियो । तर, त्यो पनि भएन् ।



अहिले उनलाई लागेको सरकार त खाली पीसीआर गराएर पैसा असुल्ने अनि यति कोरोना संक्रमित थपिए भन्दै रिपोर्ट मात्र सार्वजनिक गर्ने काम गर्दै आएको छ । हुन पनि त्यति देखिएको छ ।

होम आइसोलेसनमा बसेका ८८ हजार कोरोना संक्रमितको अवस्था यस्तै छ । न उनीहरूको कन्ट्याक्ट ट्रेसिङ हुने गरेको छ न त स्वास्थ्य अवस्था बुझ्न कोही आएका छन् ।



हरिनारायण भन्छन्, ‘होम आइसोलेसनमा बस्दा मेरो देशमा सरकार नै छैन् भन्ने फिल भयो । यदि कुनै समय मलाई गाह्रो भयो भने बाच्दिन होला भन्ने लागेको थियो । तर, त्यस्तो केही भएन् ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा बसेकाहरूको रेखदेख तथा निगरानी गर्ने दायित्व स्थानीय तहलाई दिएको छ । तर, स्थानीय तहले स्रोत साधनको अभावमा त्यस्तो गर्न नसकिने बताउँदै पञ्छिने गरेको छ ।

काठमाडौं महानगरपालिकाअन्तर्गत स्वास्थ्य विभागका विभागीय प्रमुख हरिबहादुर कुँवरले होम आइसोलेसनमा बसिरहेकामाथि निगरानी गर्न सकिने अवस्था नरहेको बताए । ‘हामीसँग सिमित स्रोत साधन छन् । अहिले हरेक घर घरमा संक्रमित छन् । सबैको घर घरमा गएर हेर्न सकिने अवस्था छैन्’ उनले भने ।

आजसम्म नेपालमा ८८ हजार  २४८ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ८१९ जना संक्रमित मात्र संस्थागत आइसोलेसनमा छन् । काठमाडौं उपत्यकामा मात्र ४२ हजारभन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन् ।

सरकारको टेलिमेडिसिन सेवा नारामा सीमित

सरकारले होम आइसोलेसनमा बस्दा समस्या परेको खण्डमा फोनबाटै सेवा दिने गरेर टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ । अहिले दैनिक १० हजार भन्दा संक्रमित भइरहेका छन् । कोभिड १९ को निदान एवम् उपचार सम्बन्धमा परामर्श प्रदान गर्न स्वास्थ्य मन्त्रालयले ३० फागुन २०७६ फागुनदेखि दुई वटा कल सेन्टर सञ्चालन गरेको थियो ।

१११५ (बिहान ६ बजेदेखि राति १० बजेसम्म) सञ्चालन हुने उक्त कल सेन्टरमा भने अचेल थोरै मात्र कल आउने गरेका छन् । पछिल्लो २४ घण्टामा ५४९ जनाले मात्र कल सेन्टरबाट सेवा लिएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

त्यस्तै, चौंविसै घण्टा खुल्ला रहने हटलाइन नम्बर ११३३ पनि सञ्चालनमा छन् । जसमा कोभिड १९ का लक्षण भएका व्यक्तिहरूले सोधपुछ गर्न सक्छन् । यति मात्र नभएर ९८५१२५५८३९ र ९८५१२५५८७ गरेर दुईवटा मोबाइल नम्बर पनि राखिएको छ । यी टेलिमेडिसिन सेवाबाट पनि कोरोना संक्रमितले अपेक्षाकृत अनुसार सेवा पाउन सकिरहेका छैनन् ।

निर्देशिका एकातिर होम आइसोलेसन अर्कोतिर

स्वास्थ्य मन्त्रालयले २०७७ को जेठमा कोभिड १९ केशको आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिका जारी गरेको थियो । जसमा होम आइसोलेसनको मापदण्ड र कस्ता संक्रमित होम आइसोलेसनमा बस्ने सक्ने व्यवस्था गरेको थियो ।

होम आइसोलेसनमा बस्नको लागि उनले पालना गर्नुपर्ने पक्षबारे मञ्जुरीनामा गराई आइसोलेसनमा राख्न सकिने व्यवस्था निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाअनुसार हावा खेल्ने तथा प्रकाश प्रयाप्त आउने छुट्टै कोठामा राख्ने व्यवस्था मिलाउनुपर्छ । तर, अहिले भने यो नियमसँग कोही पनि होम आइसोलेसन मिल्न सकेको छैन् । एउटै कोठामा सपरिवार बस्दा यस्तो नियम पालना गर्न सकिने अवस्था नै छैन ।

त्यस्तै, उपचार अवधिभर बाहिर ननिस्कने र आवश्यक पर्ने सामाग्रीहरू परिवारका सदस्य मार्फत मगाउनुपर्ने समेत नियम छ । तर, अहिले भने कोरोना संक्रमित आफैं बाहिर जाने र आफुलाई आवश्यक पर्ने सामान किनेर ल्याउने गरेका छन् । यस्तो अवस्था कसैले पनि निगरानी गर्न सकेको छैन् ।

घरमा रहेका बिरामीको सम्बन्धमा सम्बन्धित स्वास्थ्यकर्मीले हरेक दिन फोन वा एसएमएसबाट विरामीको स्वास्थ्य अवस्थाको जानकारी लिने र आवश्यक परामर्श दिई अभिलेख व्यवस्थित गर्नुपर्ने हुन्छ । तर, होम आइसोलेसनमा बस्दै आएका संक्रमितले स्वास्थ्यकर्मी देख्नै पाइरहेका छैनन् ।

समस्या परेकालाई तत्काल सहयोग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले होम आइसोलेसनमा बस्दा जटिल समस्या परे तत्काल सहयोग गरिने बताए । ‘अहिले त्यति धेरैे जटिल अवस्था छैन् । होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गर्न सकिन्छ । जटिल समस्या आयो भने नजिकै कोभिड उपचार केन्द्रमा जान सकिन्छ’ उनले भने ।

कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने, उनीहरूको स्वास्थ्य परीक्षण गराउने जिम्मेवारी स्थानीय तहलाई दिएको उनको भनाइ छ । ‘हामीले हरेक स्थानीय तहलाई संक्रमितको व्यवस्थापन गर्ने, कन्ट्याक्ट ट्रेसिङ गर्ने, होम आइसोलेसनमा बसेकाहरूमा निगरानी राख्ने भनेका छौं । स्थानीय तहले सबै काम गर्नुपर्छ’ उनले भने ।

लक्षण नभएका वा सामान्य लक्षणहरू भएका संक्रमितहरू, श्वासप्रश्वासमा समस्या वा सास फेर्न गाह्रो नभएका व्यक्तिहरू, आफ्नो स्वास्थ्य समस्या अनुगमन गर्नसक्ने व्यक्तिहरू, बढी जोखिममा नपर्ने व्यक्तिहरू होम आइसोलेसनमा बस्न सक्ने उनको भनाइ छ ।

उच्च रक्तचाप, मुटुको समस्या, मृगौलाको रोग, क्यान्सर, मधुमेह आदिको समस्या भएका र ६० वर्ष उमेर नाघेका व्यक्तिहरूलाई कोरोना संक्रमण भएको खण्डमा संस्थागत आइसोलेसन वा अस्पतालमा जान सक्ने सह–प्रवक्ता डा. अधिकारीले बताए ।

होम आइसोलेसनमा बस्दा केही समस्या आए सरकारको हटलाइन अथवा नजिकैका अस्पतालमा जान सकिने उनको भनाइ छ ।

  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १८:५२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया