सिके राउतका कार्यकर्ताका ‘अराजक क्रियाकलाप’ छानबिन गर्न मधेस सरकारको निर्देशन

मधेस सरकारले डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार जनकपुरधाममा गरेको ‘अराजक क्रियाकलाप’ छानबिन गर्न निर्देशन दिएको छ । प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन र पीडितलाई क्षतिपूर्ति एवं दोषीउपर कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

‘पूर्वघोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि प्रदेश सभा सदस्य अशोक यादव, हरिवन नगरपालिका मेयर, उपमेयर, जलेश्वर अस्पतालका मेसु डा. सतीश साहलगायत व्यक्तिमाथि गरिएको सांघातिक आक्रमण एवं सवारीसाधनमा गरिएको तोडफोडको घटनाको वास्तविक छानबिन गरी सम्बन्धित जनप्रतिनिधि एवं चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन एवं दोषीउपर कारबाही गर्न प्रदेश सरकार तालुकदार निकायलाई निर्देशित गर्दछ,’ प्रदेश सरकारको विज्ञप्तिमा भनिएको छ ।

बुधबार जनमत पार्टीका कार्यकर्ताले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आएका जनप्रतिनिधिको ७ वटा गाडीमा तोडफोड गरेका छन् । तोडफोडमा संलग्न जनमत पार्टीका ७ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा धनुषाको औरही गाउँपालिका–५ बस्ने ३० वर्षीय बिमलेश मण्डल, सप्तरीको कञ्चनरुप नगरपालिका–१ बस्ने २८ वर्षीय पप्पु पंजियार, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ बस्ने ३१ वर्षीय सुशील कुमार मण्डल, सिरहाको सुखिपुर नगरपालिका–४ बस्ने २२ वर्षीय जिवछ यादव, सप्तरीको बोदेबर्साइन नगरपालिका–१ बस्ने १८ वर्षीय अर्जुन साह, महोत्तरीको एकडारा गाउँपालिका–४ बस्ने ३५ वर्षीय राम विदेही पासवान र सर्लाहीको कविलासी नगरपालिका–२ बस्ने ३० वर्षीय सुवेध मण्डल रहेका छन् ।

उनीहरुले गरेको आक्रमणबाट प्रदेश सभा सदस्य अशोक यादव, जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतीशकुमार साह, सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं र उपप्रमुख रेणुका पौडेल घाइते भएका छन् ।





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार २१:५९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया