रुसले युक्रेनमा आक्रमण गरे नेपालमा कस्तो असर पर्ला ?
तस्वीरः बिबीसी

अमेरिकाले घोषणा गरिसकेको छ– रुसले जुनसुकै बेला युक्रेनमाथि आक्रमण गर्नसक्छ । 

अमेरिकी यो घोषणाले स्पष्ट देखाउँछ अहिले रुस र युक्रेनबीचको सम्बन्ध । 

रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने भन्दै अमेरिकाले आफ्ना साढे ८ हजार सैनिकलाई ‘हाइ अलर्ट’मा राखेको छ । 

अमेरिकाले नेतृत्व गर्ने नेटो गठबन्धनले युक्रेनमाथि आक्रमण नगर्न रुसलाई दबाब दिइरहेका छन् । आक्रमण गरे परिणाम भयावह हुने र थप प्रतिबन्ध लगाइने चेतावनी अमेरिका लगायत पश्चिमी देशले रुसलाई दिएका छन् । 

रुसले पनि बिभिन्न माग अमेरिकासहित नेटो गठबन्धन समक्ष राखेको छ । युक्रेनलाई नेटोको सदस्यता नदिन रुसले विशेष पहल गरिरहेको छ, जसलाई नेटो सदस्य राष्ट्रले स्वीकार गरेका छैनन् । 

पश्चिमी देशले जति चेतावनी दिए पनि रुस गलेको छैन । रुस झन् आक्रामक बनिरहेको छ । 



अहिले रुसले युक्रेनको सीमामा एक लाखभन्दा बढी आफ्ना सेना तैनाथ गरेको छ । ठूलो मात्रामा हातहतियार लगेर राखेको छ । युक्रेन सीमा नजिक दिनहुँ सैन्य अभ्यास गरिरहेको छ । त्यति मात्र होइन युक्रेनको सीमा नजिक रुसका शक्तिशाली लडाकु विमान र हेलिकोप्टर तथा ट्याङ्क पनि देखिन थालेका छन् ।  

यी सबै कारणले गर्दा पश्चिमी देशहरुले रुस युक्रेनमा आक्रमण गर्ने अन्तिम तयारीमा रहेको दाबी गर्दै आएका हुन् । नेपालबाट ५ हजार २८ किलोमिटर (एरिअल डिस्टेन्स) टाढा रहेको युक्रेनमाथि रुसले आक्रमण गरे त्यसको नेपालमा कस्तो असर पर्ला त ? 



कूटनीतिक दबाब 

यदि रुसले युक्रेनमाथि आक्रमण गरे सबैभन्दा पहिला नेपालले सामान गर्ने भनेको कूटनीतिक दबाब हो । यो दबाब रुस र पश्चिमी राष्ट्रको नेतृत्व गर्ने अमेरिकाबाट आउने छ । 

रुसले आफ्नो कार्य सहि छ भन्नेमा समर्थन जनाउन नेपालमाथि दबाब दिने छ । अमेरिका लगायत पश्चिमी देशहरुले रुसको कदम गलत हो भन्न नेपालमाथि दबाब दिने पक्का छ । 

अझ यो मुद्दा राष्ट्रसंघको सुरक्षा परिषदमा गएपछि पक्ष र विपक्षमा भोटिङ हुने सम्भावना हुन्छ । जहाँ नेपाललाई थप अप्ठेरो पर्नेछ । सम्भवत राष्ट्रसंघमा नेपाल तटस्थ बस्नेछ ।

नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने सूचीमा रुस छैठौं नम्बरमा पर्छ । बेलायत, अमेरिका, भारत, फ्रान्स र चीनपछि नेपालले सन् १९५६ जुलाई २० का दिन रुससँग कूटनीतिक सम्बन्ध गाँसेको थियो । 

शीतयुद्धको बेला नेपाल अमेरिका र रुस कुनैको पक्ष नलिई तटस्थ बसेको थियो अर्थात त्यतिबेला नेपालले लिएको असंलग्नताको सिद्धान्तलाई अहिलेसम्म पनि छोडेको छैन । 

युक्रेनसँग भने नेपालले कूटनीतिक सम्बन्ध १९९३ जनवरी १५ का दिन गाँसेको हो । युक्रेनसँग नेपालको खासै राजनीतिक सम्बन्ध छैन तर व्यापारिक सम्बन्ध भने रुससँग भन्दा पनि गहिरो रहेको छ । 

नेपालले हालसम्म विश्वका १७२ देशसँग कूटनीतिक सम्बन्ध गाँसेको छ । नेपालले रुसको मस्कोमा दूतावास खोलेको छ भने रुसको पनि काठमाडौंमा दूतावास राखेको छ ।

नेपालले युक्रेनमा भने दूतावास खोलेको छैन । युक्रेनले पनि नेपालमा दूतावास स्थापना गरेको छैन । 

यसअघि के भएको थियो ? 

रुसले सन् २०१४ मा युक्रेनबाट क्राइमियालाई खोसेको थियो । जनमतसंग्रह गराई क्राइमियामालाई रुसले आफ्नो देश भित्र गाभेको थियो । यसको विरोधमा अमेरिकाको नेतृत्वमा पश्चिमी देशहरुले राष्ट्रसंघको सुरक्षा परिषदमा निन्दा प्रस्ताव लगेका थिए । उक्त प्रस्तावको पक्षमा एक सय राष्ट्र, विपक्षमा ११ राष्ट्र र ५८ राष्ट्र तटस्थ बसेका थिए । नेपाल यसमा तटस्थ बसेको थियो । 

व्यापारमा असर 

यदि रुसले युक्रेनमाथि आक्रमण गरे त्यसको असर नेपाल र युक्रेनबीचको व्यापारमा पर्ने देखिन्छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिना (साउनदेखि पुससम्म) मा नेपालको आठौं ठूलो वैदेशिक व्यापार युक्रेनसँग रहेको छ । 

पछिल्लो ६ महिनामा युक्रेनबाट नेपालमा ११ अर्ब ८८ करोड २७ लाख २ हजार रुपैयाँको वस्तु भित्रिएको छ । सोही अवधिमा नेपालबाट युक्रेनमा १५ लाख रुपैयाँको वस्तुमात्र निर्यात भएको छ । 

चालु आर्थिक वर्षमा मात्र युक्रेनसँग नेपालको व्यापार घाटा ११ अर्ब ८८ करोड १२ लाख २ हजार रुपैयाँ पुगेको छ ।  

नेपालले वस्तु निर्यात गर्ने १४८ राष्ट्रको सूचीमा युक्रेन ७८ औं स्थानमा पर्छ । नेपालको आठौं ठूलो व्यापार घाटा हुने देश युक्रेन हो । 

चालु आर्थिक वर्षको सुरुवाती ६ महिनामा रुसबाट नेपालमा ३ अर्ब ८६ करोड ८ लाख ९८ हजार रुपैयाँको वस्तु आयात भएको छ । सोही अवधिमा नेपालबाट रुसमा १२ करोड ६० लाख ७० हजार रुपैयाँको वस्तुहरु निर्यात भएको देखिन्छ । अर्थात यो अवधिमा नेपालको रुससँग व्यापार घाटा ३ अर्ब ७३ करोड ४८ लाख २८ हजार रुपैयाँ रहेको छ । 

युक्रेनबाट के आउँछ नेपालमा 

युक्रेनबाट खासगरी नेपालमा कच्चा भटमास, सनफ्लावर र पाम तेल आउने गर्छ । जसलाई नेपाली उद्योगी व्यवसायीले नेपालमा प्रशोधन गरी भारतको बजारमा बेच्ने गर्छन् । 

नेपालमा सबैभन्दा बढी कच्चा भटमास, सनफ्लावर र पाम तेल अर्जेन्टिना र युक्रेनबाट आउने गर्छ । जसलाई नेपालमा प्रशोधन गरी भारतीय बजारमा बेच्ने गरिन्छ । नेपालको निर्यात व्यापारको करिव आधा हिस्सा यही प्रशोधित भटमास, सनफ्लावर र पाम तेलमा अडेको छ । 

नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा मात्र ५६ अर्ब ७८ करोड ५६ लाख १९ हजार रुपैयाँको प्रशोधित भटमास, सनफ्लावर र पाम तेल भारतमा निर्यात गरेको छ । सो अवधिमा नेपालको कूल निर्यात व्यापार १ खर्ब १८ अर्ब ८५ करोड ९ लाख ६० हजार रुपैयाँको रहेको छ । 

पछिल्लो ६ महिनामा मात्र युक्रेनबाट नेपालमा ८ अर्ब २४ करोड ७१ लाख ८७ हजार रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल आएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा युक्रेनबाट १६ अर्ब ९३ करोड २० लाख ६ हजार रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको थियो । 

युद्धका कारण कच्चा तेलको आयात रोकिए यसको असर नेपालको तेल उद्योगमा पर्नेछ । त्यतिमात्र होइन यसले रोजगारीमा समेत प्रभाव पार्नेछ । 

कच्चा तेलको अलवा युक्रेनबाट नेपालमा ठूलो मात्रामा सुकेको केराउ, बिभिन्न प्रकारका बीज, ससेज, कुकुर र बिरालोको खाना, जनावरको लागि खोप, मल, मेकअपका सामान, पुरुष तथा महिलाको पोशाक, रेफ्रिजेरेटर र आवश्यक सामाग्री, घडी, जहाज तथा हेलिकोप्टरका पाटपुर्जा र फर्निचर पनि आउने गरेका छन् । 

पछिल्लो ६ महिनामा युक्रेनबाट ११ अर्ब ८८ करोड २७ लाख २ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १७ अर्ब १७ करोड ६८ लाख ३ हजार रुपैयाँको वस्तु नेपालले युक्रेनबाट आयात गरेको थियो । उक्त वर्ष नेपालले भने मात्र २२ लाख ८७ हजारको वस्तु युक्रेनमा निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । 

जहाज र हेलिकोप्टरको मर्मत सम्हारमा असर 

यदि रुसले युक्रेनमाथि आक्रमण गरे यसको असर नेपालमा रहेका जहाज र हेलिकोप्टरको मर्मत सम्हारमा पनि पर्ने देखिन्छ । 

नेपाली सेनाले आफ्ना जहाज र हेलिकोप्टरको मर्मत सम्हार युक्रेनमा र युक्रेनको सहयोगमा गर्दै आएको छ । 

यतिसम्मकी नेपाली सेनाले रुसबाट खरिद गरेका एमआई–१७ हेलिकोप्टरको मर्मत सम्हार पनि युक्रेनमा तथा युक्रेनबाट सामान ल्याई गर्ने गरिन्छ । 

अमेरिकाले रुसमाथि लगाएका विभिन्न प्रतिबन्धका कारण नेपाली सेनाले कतिपय जहाज र हेलिकोप्टर सम्बन्धि मर्मत सम्हार कार्य रुससँग सिधै गर्न सक्दैन । यसको विकल्पको रुपमा सेनाले युक्रेनबाट सामान ल्याई मर्मत सम्हार गर्दै आएको छ । 

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालले ५ लाख २८ हजारको यस्ता सामान नेपालले युक्रेनबाट ल्याइसकेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले युक्रेनबाट २ करोड  लाख २१ हजार रुपैयाँ बराबरको जहाज तथा हेलिकोप्टरका पाटपुर्जा ल्याएको थियो । 

  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार १५:२७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया