गौतमबुद्ध रंगशालालाई गौरवको आयोजनाका रूपमा अघि बढाउन खेलकुदमन्त्रीको निर्देशन

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गरेका छन् । मन्त्री गहतराजको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मीसहित टोली बिहीबार चितवन पुगेर रंगशालाको स्थलगत निरीक्षण गरेको हो ।

निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सम्बन्धमा भरतपुर महानगरपालिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुन चितवन पुगेका मन्त्री गहतराजले रंगशालाको निरीक्षण तथा अवलोकन गरेका हुन् ।

रंगशाला निरीक्षणपछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरेरै छाड्ने प्रतिबद्धता जनाए । उक्त रंगशालालाई गौरवको आयोजनामा समेटी यही आर्थिक वर्षबाट काम सुरु हुनेगरी तयारी थाल्न मन्त्री गहतराजले मन्त्रालयका कर्मचारीलाई निर्देशनसमेत दिए ।

नेपालकै गौरवको आयोजनाका रूपमा रहेको उक्त परियोजना अलपत्र हुने अवस्था सृजना हुनु दुःखद भएको उल्लेख गर्दै मन्त्री गहतराले भरतपुर महानगरपालिका, प्रदेश र केन्द्र सरकारको सहकार्यमै रंगशाला निर्माण कार्य सम्पन्न गरिने बताए । उनले लगानीको स्रोत पहिचान गरेर रंगशाला निर्माणका बाँकी काम पुरा गर्ने प्रतिबद्धता जनाए ।

रंगशाला निर्माणका क्रममा अहिलेसम्म भएको सम्पूर्ण खर्च विवरण यथाशिघ्र सार्वजनिक गर्न उनले धुर्मुश–सुन्तली फाउण्डेसनलाई आग्रहसमेत गरे ।

रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुश–सुन्तली फाउण्डेसनले परियोजनाबाट हात झिकेपछि उक्त परियोजना निर्माणको जिम्मा भरतपुर महानगरपालिकाले लिएको छ । अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, धुर्मुश–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल लगायतको सहभागिता रहेको थियो ।





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार २०:४०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया