‌ओलीले गठबन्धन टुट्ला र पाइदा उठाउँला भनेर मौका ताकेका छन् : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारूढ गठबन्धन फुटाउन चर्को रूपमा लागि परेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले ओलीको त्यो प्रयास सफल हुन नदिने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेता सत्तारूढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेको पनि बताए ।

'जनतामा जाने कुराबाट हामी अत्यन्त खुसी पनि हुन्छौं । यस अर्थमा चुनावको कुराबाट बरु अरू आत्तिएका होलान् । गठबन्धनको एकता तोड्न खोजिरहेका होलान् । भ्रम पैदा गर्ने कोसिस गरिरहेका होलान् । अनि चुनावको कुरा गरिसकेपछि गठबन्धन दलको बीचमा उम्मेदवारीमा कुरा मिल्दैन । नमिलेपछि गठबन्धन टुट्छ । टुटिसकेपछि त्यसको फाइदा उठाउँला भनेर कोही त्यो मौकाको ताकमा पनि कोही होलान् । तर आज बिहान भएको बैठकमा पनि नेपाली कांग्रेसका सबै नेताहरूले यो गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भन्ने साझा प्रतिवद्धता व्यक्त गर्नु भएको छ,' उनले भने ।

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिनाभित्र गर्न उपयुक्त हुने धारणा पनि राखे । उनले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल २०७९ साल असोज २ गतेपछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दावीसमेत गरे ।

अध्यक्ष नेपालले संवैधानिक व्यवस्थाअनुसार चुनाव हुनेमा शंका नगर्न पनि सबैलाई आग्रह गरे । उनले कांग्रेस नेताहरू गठबन्धनमा आवद्ध दलको सहमतिमा स्थानीय तहको निर्वाचन गराउन सहमत रहेको बताए । 





  • प्रकाशित मिति : माघ १५, २०७८ शनिबार १५:११:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया