सीटीईभीटीविरुद्ध जनकपुरधाममा आज पनि विद्यार्थीको प्रदर्शन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) विरुद्ध विद्यार्थीले जनकपुरधाममा प्रदर्शन जारी राखेका छन् । परीक्षा स्थगित गरेको विरोधमा विद्यार्थीले दोस्रो दिन पनि प्रदर्शन गरेका हुन् ।

उनीहरुले वैकल्पिक विधिबाट परीक्षा हुनुपर्ने अथवा भौतिक उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना गरी परीक्षा सञ्चालन गर्नुपर्ने, नभए आन्तरिक मूल्यांकनद्वारा नतिजा प्रकाशन गर्नुपर्ने माग गरेका छन् । 

सीटीईभीटीले विद्यार्थीको जीवनसँग खेलबाड गर्न नपाउने र समयमै परीक्षा हुनुपर्ने उनीहरूको माग छ । ३ वर्षको कोर्सलाई ५ वर्षसम्म पुर्‍याउनका लागि पटक–पटक परीक्षा स्थगित भइरहेको उनीहरूको आरोप छ । 

प्रदर्शनको क्रममा विद्यार्थीहरुले सडक अवरुद्ध गरी चक्काजाम गर्न खोज्दा स्थानीय मुरलीचोकमा प्रहरीले उनीहरूमाथि सामान्य बल प्रयोगसमेत गरेको थियो ।

कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको र परीक्षार्थीहरूको संख्या पनि बढी भएकोले सीटीईभीटीले परीक्षा स्थगित गरेको थियो । परिषद्ले माघ १५ गते बायोमेडिकलतर्फको प्रवेश परीक्षा र माघ २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो ।



परिषद्ले माघ २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रमअन्तर्गतका नियमित तथा पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । 



  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार १३:३०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया