मधेस प्रदेशको राजधानी जनकपुरधामको जनसंख्या करिव दुई लाख पुगेको छ । पछिल्लो १० वर्षको अवधिमा पुरुषभन्दा महिलाको संख्या बढेको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जनकपुरधाम उपमहानगरपालिकाको कुल जनसंख्या १ लाख ९५ हजार ४३८ पुगेको हो । पछिल्लो १० वर्षमा जनकपुरधाममा ३९ हजार ३१ जना नयाँ अनुहार थपिएका छन् । थपिएकामध्ये १९ हजार ३२ पुरुष र १९ हजार ९९९ महिला छन् ।
समग्रमा जनकपुरधामको कुल जनसंख्या १ लाख ९५ हजार ४३८ मध्ये १ लाख ४१७ पुरुष र ९५ हजार २१ जना महिला छन् । यो पछिल्लो जनगणनाको तुलनामा करिब २ दशमलव ५ प्रतिशतले बढी छ ।
राष्ट्रिय जनगणना २०६८ का अनुसार जनपुरधामको कुल जनसंख्या १ लाख ५६ हजार ४०७ रहेको थियो । जसमा ८१ हजार ३८५ पुरुष र ७५ हजार २२ महिला थिइन् ।
२०६८ सालमा यस उपमहानगरपालिकामा २९ हजार ५१५ घरपरिवार रहेकोमा यसवर्षको जनगणनामा ४१ हजार ९४१ पुगेको छ । यसवर्ष जनकपुरधाम उपमहानगरमा ३२ हजार ६१२ घरमा जनगणना गरिएको थियो ।
जनकपुर नगरपालिका र बसबिटी, कनकपट्टी, महुवा प्रको, लोहना, कुर्था, देवपुरा रुपैठा, बिन्धी, बेंगाशिवपुर र बसहिया मिलेर २०७१ सालमा जनकपुर उपमहानगरपालिका बनेको थियो । पछि जनकपुरधाम उपमहानगरपालिका गरिएको थियो ।
२०६८ मा जनकपुर नगरपालिकामा ९७ हजार ७७६, बसबिटी गा.वि.स.मा २ हजार ९४८, कनकपट्टीमा ५ हजार ६२०, महुवा प्रकोमा ५ हजार ७८२, लोहनामा ६ हजार ९२७, कुर्थामा ७ हजार ८१५, देवपुरा रुपैठामा ७ हजार ९३४, बिन्धीमा ६ हजार ९४५, बेंगाशिवपुरमा ७ हजार १०२ र बसहियामा ७ हजार ५५८ जनसंख्या थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।