दलहरूमा देशलाई सुहाउँदो स्पष्ट अर्थनीतिको अभाव देखियो : अर्थमन्त्री
फरकधार / १६ माघ, २०७८

अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीतिको अभाव रहेको बताएका छन् । आइतबार मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा उनले विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव रहेको बताएका हुन् ।



‘विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको आज अभाव देखिरहेको छ’, मन्त्री शर्माले भने, ‘यस्ता जटिलताले विकासमा बाधा उत्पन्न गरेका छन् ।’

यसैगरी उनले संविधान बमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुनुका कारण अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखा परेको बताए । सबै समस्याको जड राजनीति भएको बताउँदै उनले राजनीतिक दलहरूमा सहमतिको आवश्यकता औँल्याए । राजनीतिक दलहरूमा मुलुकलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउनेबारे सहमति नहुँदा सरकारसँगै नीति परिवर्तन गरिरहनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।



‘वास्तवमा अर्थतन्त्रमा देखिएका विभिन्न समस्याको मूल समस्या भनेको राजनीतिक क्षेत्रको समस्या हो’, उनले भने, ‘नेपालको सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्रको मूल अर्थतनीति यो हो भन्ने कुराको स्पष्ट राजनीतिक खाका आवश्यक छ ।’



मन्त्री शर्माले विज्ञहरूको सुझावलाई सरकारले मार्गदर्शकको रूपमा लिने र छलफललाई निरन्तरता दिने समेत प्रतिवद्धता पनि व्यक्त गरे ।

छलफलमा विज्ञहरूले तथ्यांकका आधारमा मुलुकको अर्थतन्त्र धरासायी भइनसकेको बताए । यद्यपि थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न सुझाए । विदेशी मुद्रा सञ्चितिका लागि भुक्तान सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन पनि उनीहरूको सुझाव रहेको थियो । यस्तै, कृषि उत्पादकत्व बढाउने, अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने, संरचनागत सुधार गर्ने लगायतका सुझाव समेत विज्ञहरूले दिP ।

छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा, प्रा. डा. विश्वम्भर प्याकुरेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको उपस्थिति थियो । त्यस्तै, भारतका लागि नेपालका पूर्व राजदूत डा. दुर्गेशमान सिंह, अर्थ विश्लेषक हरि रोका, डा. रामकुमार फुयाललगायतको पनि उपस्थिति थियो ।

  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार १८:५१:४५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया