राष्ट्रियसभा सदस्य तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नयाँ दल दर्ता गर्ने योजना बनाएका छन् । फरकधारसँगको संक्षिप्त कुराकानीमा गौतमले नयाँ दल दर्ता गर्ने सोच बनाएको पुष्टि गरेका हुन् ।
नयाँ पार्टी खोल्ने तयारीमा हुनुहुन्छ हो भन्ने फरकधारको प्रश्नमा गौतमले भने, ‘हो त्यो कुरामा मनमा मात्र छ । बाहिर आइसकेको छैन ।’ पार्टीको नामबारे अहिले आफूले केही नसोचेको उनले बताए । ‘अहिले नामबारे केही सोचेको छैन, नाम कम्युनिस्ट पार्टी हुँदैन । काम कम्युनिस्ट पार्टी हुन्छ ।’
अहिले राष्ट्रियसभा सदस्य रहेका गौतम २०७४ सालको संसदीय चुनावमा बर्दिया-१ मा पराजित भएका थिए । उनलाई यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २०७७ मा राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको थियो ।
सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मनोनित गरेकी थिइन् । गौतम ६ वर्षका लागि राष्ट्रियसभा सदस्य बनेका हुन् । एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको तत्कालिन नेकपामा उनी सचिवालय सदस्य थिए ।
नेकपा विभाजनपछि एमाले उपाध्यक्षको रूपमा रहेका गौतम एमाले नै विभाजन भएपछि उपाध्यक्षबाट राजीनामा दिएर बसेका थिए । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा जाने हल्ला चले पनि उनी भने छुट्टै पार्टी गठनको तयारीमा लागेका छन् ।
यो पनि पढ्नुहोस्– कहीँ नटिक्ने राजनीतिका ढुलमुले खेलाडी वामदेव
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।