कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले निर्वाचन आयोगको प्रस्तावअनुसार स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा कोरोना भाइरसविरुद्धको खोप कार्यक्रमको निरीक्षण गर्दै नेता सिंहले निर्वाचन आयोगले वर्तमान संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले त्यहीअनुसार गर्नु उपयुक्त हुने बताएका हुन् ।
'स्थानीय तहको निर्वाचनका लागि आयोगले मिति प्रस्ताव गरिसकेको छ । त्यस आधारमा क्याबिनेटले पास गरेर स्थानीय तहको मिति निर्धारण गरेको राम्रो हो,’ उनले भने ।
नेता सिंहले वर्तमान सरकार संविधान र लोकतन्त्रको रक्षा गर्न निर्माण भएकाले संविधान मिच्न नमिल्ने उनले बताए । ओली सरकारले जनताको म्यान्डेटअनुसार नचल्दा गठबन्धनको सरकार बनेकाले यो सरकारले संविधानको मर्मअनुसार काम गर्नुपर्ने उनको भनाइ छ ।
‘तत्कालीन कम्युनिस्ट सरकारले म्याण्डेडबमोजिम कार्य गर्न नसकेको र संविधानलाई भंग गर्ने प्रयास गरेकाले त्यो संविधानको रक्षा गर्न यो गठबन्धन सरकार बनेको हो,’ उनले भने, ‘गठबन्धन सरकारको मुख्य काम भनेको संविधानको मर्म र भावनाबमोजिम काम गर्नु र पाँच वर्षमा स्थानीय निर्वाचन हुन्छ भन्ने किटान गरेकाले संविधान र ऐन बमोजिम अगाडि बढ्नु हो ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।