कैलालीमा ६५ प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्ण खोप

कैलालीमा लक्षित उमेर समूहका ६५ प्रतिशत नागरिकले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पूर्ण खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कैलालीमा कोरोनाविरुद्धको खोप लगाउने लक्षित उमेर समूह १८ वर्षमाथिको जनसंख्या ६ लाख ६४ हजार ६८८ रहेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा ४ लाख ७१ हजार ९२८ जनालाई कोरोनाविरुद्धको खोपको पहिलो डोज दिइएको छ । जिल्लामा खोपको पूर्ण मात्रा पाउनेको संख्या चार लाख ३२ हजार पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।

उनका अनुसार कैलाली कोरोनाको उच्च जोखिममा रहेकाले पनि नियमित खोप कार्यक्रम सञ्चालन भइरहेको हो । यसैबीच, कैलालीमा सोमबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना नामक खोप लगाउने काम सुरु गरिएको छ । जिल्लाको टीकापुर नगरपालिकाले पनि मंगलबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका १७ हजार बालबालिकालाई खोप लगाउने अभियान सुरु गरेको छ । 

टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका सहसंयोजक कमल रावलले मङ्गलबारदेखि २१ गतेसम्म नगरपालिकाका विभिन्न स्थानमा खोप केन्द्र स्थापना गरी बालबालिकालाई खोप लगाउने तयारी भइरहेको जानकारी दिए ।

त्यस्तै, जिल्लाकै जानकी गाउँपालिकाले पनि मंगलबारदेखि २१ गतेसम्म पालिकाभित्र रहेका तीन हजार नौ सय ४५ बालबालिकालाई खोप लगाउने तयारी गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले जानकारी दिए । 

कैलालीका सबैजसो पालिकामा यही साताभित्रै खोप अभियान सुरु हुँदैछ । विद्यालयले बालबालिकालाई अनिवार्य खोप लगाउन आग्रह गरेका छन् ।   





  • प्रकाशित मिति : माघ १९, २०७८ बुधबार ९:४२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया