बहसमा एमसिसीः देउवाको पास गर्ने चाहना, प्रचण्ड र नेपालको ‘नो नो नो’

पछिल्लो समय नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) फेरि चर्चाको केन्द्रमा रहेको छ । पछिल्ला दिनमा सत्ता गठबन्धनमा सामेल भएका पाँच दलको विभिन्न धारणा बाहिर आउन थालेपछि यसले तरंग सिर्जना गरेको छ ।

तर, संसदमा एमसिसी परियोजनाको सम्झौता प्रस्ताव कहिले प्रस्तुत गरिने छ भन्ने विषयमा अहिलेसम्म अन्योल छ । सभामुख अग्निप्रसाद सापकोटाले एमसिसीको सम्झौतालाई टेबुल गर्न आनकानी गरिरहेका छन् । उनले यस्तो गर्नुको कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एमसिसी यथास्थितिमा पारित गर्नु हुँदैन भन्ने लाइनलाई सहयोग गर्न भनिएको चर्चा हुन थालेको छ । 

त्यसो त सभामुख सापकोटाले यसअघि नै अहिलेको अवस्थामा एमसिसीलाई संसदमा प्रस्तुत गर्न नसकिने अभिव्यक्ति समेत दिएका छन् । 

‘अहिले संसदमा जस्तो अवस्था छ, प्रमुख प्रतिपक्षीले संसद चल्न दिइरहेको छैन, यस्तो होहल्लाकाबीच कसरी एमसिसी पारित गर्ने भन्ने उहाँको प्रश्न हो,’ उनीनिकट एक नेताले भने, ‘सभामुख सापकोटाले त एमसिसी राष्ट्रिय बहस भएकाले यसलाई संसदमा पारित गर्नका लागि पहिले राष्ट्रिय सहमति बन्नुपर्छ भन्नु भएको हो ।’

सभामुखको यो अडान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण आएको बुझाइ बाहिर आएको छ ।

यही विषयमा बुधबार विहान प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको थियो । यही विषयमा छलफल गर्न पहिले देउवाले आफ्नो दूत बनाएर गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई नेपाल निवास बालकोट पठाएका थिए । खाँण बालकोट पुगेको केही समयमा नै प्रचण्ड बालुवाटार पुगे । 



त्यसपछि नेपालले खाँणसँगको भेटलाई छोट्याए, उनी पनि बालुवाटार पुगे । 

बालुवाटारमा यी तीन नेताको यही विषयमा एक घन्टाभन्दा बढी छलफल भएको थियो । बालुवाटार स्रोतका अनुसार पछिल्लो समय एमसिसीका कारण गठबन्धन नै टुट्न सक्ने सम्भावना पनि बढ्दै गएको चर्चासमेत बैठकमा भएको थियो । 



स्थानीय तहको निर्वाचन, एमसिसी र गठबन्धनको विषयमा यो भेटमा छलफल भएको थियो । 

स्रोतका अनुसार बालुवाटारमा प्रधानमन्त्री देउवाले एमसिसी सम्झौता अब छिटो पारित गर्नु पर्ने तर्क राखेका थिए । तर, यसलाई नेपाल र प्रचण्डले अस्वीकार गरेका छन् । स्रोतका अनुसार प्रचण्ड र नेपालले अहिलेको अवस्थामा नै एमसिसी पारित गर्नु नहुने तर्क गरेका छन् ।

‘नो नो नो,’ नेपालले बैठकमा भनेको शब्दलाई ती अधिकारीले उद्धृत गरे, ‘अहिलेको अवस्थामा हामीले एमसिसीलाई अगाडि बढाउने हो भने यसले हामीलाई फाइदा गर्दैन ।’

बैठकबाट निस्किएपछि पार्टीको एक कार्यक्रममा पुगेर नेपालले बुधबार नै गठबन्धन अहिले नटुट्ने र एमसिसीबारे आफूहरु कुनै निष्कर्षमा पुग्न नसकेको बताएका छन् । उनले भनेका छन्, ‘बाहिर गठबन्धन पनि टुट्न सक्छ भन्ने खबर आएका छन्, त्यो दिमाग खराब भएकाहरुले भनेको कुरा हो, अहिले गठबन्धन थप बलियो भएर अगाडि बढ्छ ।’

तर, गठबन्धनमा फाटो आउन सक्ने सम्भावना नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री देउवाबीच भएको छलफलले पनि बढाएको छ । २४ पुसमा बालकोटमा नै पुगेर देउवाले ओलीसँग एमसिसी र अहिलेको संसदको अवरोधको विषयमा छलफल गरेका थिए । त्यति बेला ओलीले देउवालाई एमसिसी पारित गर्न आफूहरु तयार रहेको बताएका थिए । तर, यसमा उनले तीन सर्त राखेका थिए । उनको पहिलो सर्त थियो– सभामुखबाट अग्निप्रसाद सापकोटालाई हटाउनु पर्ने । सभामुखबाट सापकोटा हटाउन सकेमा संसदमा आफू बलियो हुने र आगामि निर्वाचनमा पार्टीले थप राम्रो गर्न सक्ने विश्वास ओलीले लिएका छन् ।

ओलीले पनि साथ दिने संकेत पाएपछि प्रधानमन्त्री देउवा जतिसक्दो छिटो एमसिसी पारित गराउने पक्षमा छन् । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपालले यसमा असहमति जनाइरहेका छन् ।


  • प्रकाशित मिति : माघ १९, २०७८ बुधबार १४:३३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया