वर्तमान सत्तारुढ गठबन्धनमा आन्तरिक खटपट आएको चर्चाका बीच नेकपा एमालेका अध्यक्ष केपी ओलीनिकट एक पोलिटब्युुरो सदस्यले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा एमालेसँग गठबन्धन गरेर जान चाहेको दाबी गरेका छन् ।
‘स्थानीय तह निर्वाचन संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहस कार्यक्रममा सम्बोधन गर्दै एमालेका युवा नेता महेश बस्नेतले यस्तो दाबी गरेका हुन् ।
माओवादी र एकीकृत समाजवादी पार्टी अहिले सरकारमा भए पनि निर्वाचनमा एमालेसँग गठबन्धन गर्ने विषयमा पनि छलफल चलाइरहेको सूचना आफूले पाएको उनको दाबी छ ।
प्रचण्ड र नेपालप्रति लक्षित गर्दै उनले अवसरवादीहरुलाई बोकेर लोकतन्त्रको रक्षा गर्न नसकिने बताए । नेपाल र दाहाल कांग्रेसका लागि घाँडो साबित भएको उनको भनाइ छ ।
संविधान र लोकतन्त्र बचाउन आवधिक निर्वाचन सही दिशामा लैजानका लागि जेठ ४ गतेभित्र स्थानीय तहको निर्वाचन गर्नैपर्ने बस्नेतको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।