सत्यतथ्य समाचार सम्प्रेषण गर्न प्रेस काउन्सिलकाे आग्रह

प्रेस काउन्सिल नेपालले सत्यतथ्य र विश्वसनीयताकाे पर्याप्त परीक्षण गरेर मात्रै समाचार उत्पादन र सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारजगतलाई आग्रह गरेको छ ।

केही सञ्चारमाध्यमहरूले कोरोनासँग जोडिएको भ्रमपूर्ण समाचार प्रकाशन गरेको उल्लेख गर्दै प्रेस काउन्सिल नेपालले सत्यतथ्य र विश्वसनीयताको परीक्षण गरेर मात्रै समाचार प्रकाशन गर्न संञ्चारगृहको ध्यानाकर्षण गराएको हो । 

बिहीवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार संस्थाहरूले समाचार अनुवाद गरेर सम्प्रेषण गर्दा त्यसको तात्पर्य मिलेको छ वा छैन भन्ने कुराको प्रमाणका आधारमा मात्रै सम्प्रेषण गर्नुपर्ने बताए ।

उनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को भनाइको हवाला दिँदै ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ : डब्ल्यूएचओ’ भन्ने समाचार गलत भएकाले त्यस्तो समाचार तयार गर्ने संस्था र त्यसलाई प्रकाशन गर्ने सञ्चारगृहसँग स्पष्टीकरण लिएको जानकारी दिए । 

उनले समाजमा भ्रम पैदा गर्ने प्रकारको समाचार बनाएर पठाउने संस्था र समाचार प्रकाशित गर्ने केही सञ्चारमाध्यमहरूलाई सोधिएको स्पष्टीकरणमा सञ्चारमाध्यमहरूले गल्ती नदोहोर्‍याउने प्रतिवद्धता जनाएको पनि बताए ।

अध्यक्ष बस्नेतले भन्नुभयो, ‘केही दिनअघि कोरोनासँग जोडिएको एउटा समाचार संस्थाबाट उत्पादन गर्दा त्यसको अनुवाद सही ढंगले नभएको पाइयो । त्यति मात्रै होइन, त्यो समाचार संस्थाबाट गएका समाचार विभिन्न अनलाइन पत्रिकाहरूले जस्ताको तस्तै दिँदा समाजमा भ्रम फैलियो । अबबाट त्यस्तो गल्ती नदोहोर्‍याउने भन्ने प्रतिवद्धतासहित सञ्चारमाध्यमले हामीलाई पत्र पठाउनु भएको छ । प्रेस काउन्सिल के आग्रह गर्न चाहन्छ भने त्यस्ता किसिमका समाचार उत्पादन गर्दा र अनुवाद गर्दा ठ्याक्कै मिलेको छ कि छैन ? त्यो हेरिदिन विशेष आग्रह गर्दछ । यस्ता समाचार दिँदा विशेष ध्यान दिनुपर्छ भनेर प्रेस काउन्सिल नेपाल सम्बद्ध सञ्चार संस्थाहरूलाई सचेत पनि गराउन चाहन्छ ।’



गत माघ १० गते प्रकाशित ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछः डब्ल्यूएचओ’ शीर्षकको समाचारमा कुनै सत्यता नभएको भन्दै नेपालस्थित डब्ल्यूएचओको कार्यालयले आपत्ति जनाएकाे थियाे ।
 



  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १३:२३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया