नारायणहिटी संग्रहालयका जीर्ण संरचनाको मर्मत गर्न मन्त्री आलेको निर्देशन
फाइल तस्वीर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनालाई मर्मत सम्भार गर्न निर्देशन दिएका छन् ।

बिहीबार मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिरसमा जिर्ण अवस्थामा रहेका संरचनाहरुको मर्मत सम्भार गर्न निर्देशन दिएका हुन् । संग्रहालय अवलोकनपछि मन्त्री आलेले संग्रहालयभित्रका विभिन्न ठाउँमा बत्ती जीर्ण अवस्थामा देखिएकाले तुरुन्त मर्मत गरी सुचारु गर्न निर्देशन दिएको बताए ।

त्यसैगरी गेटको बाहिर छाना चुहिने अवस्था रहेकाले त्यसको पनि मर्मत गर्न भनिएको उनले बताए । त्यस्तै, संग्रहालयमा रहेका पुराना गाडीलाई मर्मतका साथसाथै रङरोग गरेर राख्न पनि निर्देशन दिइएको उनले बताए ।

उनले नारायणहिटी दरबार संग्रहालयमा अधुरा रहेका कामलाई  सम्पन्न गर्नका लागि छुट्टै डिपिआर बनाउन पनि निर्देशन दिए ।

'अब हामी करिब बजेटको नजिक छौँ । जेठ १५ गते नयाँ बजेटमा यी सबै भएका अधुरा कामलाई सम्पन्न गर्नका लागि एउटा डिपीआर छुट्टै बनाउने भनेर मैले उहाँहरूलाई निर्देशन पनि दिएको छु । छिट्टै त्यो डिपीआर बनिसकेपछि नारायणहिटी संग्रहालयभित्र भएका जति पनि अधुरा कामहरू छन्, त्यसलाई सम्पन्न गर्नको लागि छलफल पनि भएको छ’ उनले भने ।

उनले विगतमा संग्रहालय परिसरभित्र क्याफ्टेरिया सञ्चालन गर्न भनि १४ रोपनी अतिक्रमण गरी बनाइएको भौतिक संरचना भत्काइसकिएको बताए । संग्रहालय परिसरलाई व्यवस्थित गर्नका लागि आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरिने पनि उनले उल्लेख गरे ।



'मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरेर हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिआइबीमा पठाएका छौँ । उहाँहरुको पनि ध्यान त्यसमा ध्यान छिटो जानेछ भन्ने हामीले विश्वास लिएका छौँ । हामीले निर्णय गराएर पठाएको करिब १५ दिनभन्दा बढी भइसक्यो’ उनले भने ।

बतास समूहलाई नारायणहिटी दरबार संग्रहालयबाट हटाउन र आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायलाई पत्राचार पनि भइसकेको उनले बताए । 



  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार १८:२३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया