ललितपुरबाट हराएका मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्रीलाई ऊर्जामन्त्रीसहितको ज्ञापनपत्र

ललितपुर महानगरपालिका–२७  सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ ।  

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा बिहीबर गृह मन्त्रालय पुगेको टोलीले मूर्ति चोरीको घटनालाई प्रमुख प्राथमिकतामा राखी खोजी तथा अनुसन्धान गर्न ज्ञापनपत्र बुझाएको हो ।

‘कुनै विलम्ब नगरी केन्द्रीय अनुसन्धान महाशाखाबाट तत्काल उक्त चोरीको सूक्ष्मभन्दा सूक्ष्म तबरले खोजी तथा अनुसन्धान गर्न आग्रह गर्दछौँ । मूर्ति चोरीमा संलग्नलाई पक्राउ गरी चोरीको महल मात्र नभई प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार हदैसम्म कारबाही गर्न हामी स्थानीयवासी जोडदार माग गर्दछौँ,’ गृहमन्त्री खाँणलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।

यही माघ ८ गते राति पुरातात्विक महत्वको बालकुमारी माताको मूर्ति चोरी भएको थियो । मूर्तिलाई लगाइदिएको सुनका गरगहनामेत चोरी भएको थियो । मूर्ति चोरी हुँदा सुनाकोठीका बासिन्दा मर्माहत भएको उल्लेख गर्दै ज्ञापनपत्रमा भनिएको छ, ‘हामीहरूको आस्था र विश्वासको रुपमा रहेको मूर्ति चोरीका घटनाले धर्म, संस्कृति, परम्परा र रितीरिवाजमा ठूलो क्षति हुन गएको छ ।’

स्थानीयवासीले मूर्ति चोरी भएको जानकारी दिनासाथ स्थानीय प्रशासनको साथमा आफूले घटनास्थलको निरीक्षण गरेको जानकारी गराउँदै मन्त्री भुसालले स्थानीय जनताको आस्थाको मूर्ति खोजी कार्यलाई प्रभावकारी तुल्याउन गृहमन्त्री समक्ष आग्रह गरिन् । उनले केन्द्रीय अपराध अनुसन्धान महाशाखाबाट घटनाबारे अनुसन्धान गर्न र स्थलगत निरीक्षण गर्न गृहमन्त्रीलाई आग्रह गरिन् ।

मन्त्री भुसालको नेतृत्वमा गएको टोलीमा प्रदेशसभा सदस्यद्वय राजकाजी महर्जन र दिनेश महर्जनसहित गुठी मूल नायोमा नन्दबहादुर महर्जन, कृष्णहरि महर्जन, ललितपुर महानगर वडा नं २७ का अध्यक्ष बाबुराजा महर्जन, वडा नं २६ का वडाध्यक्ष सुरेश महर्जनलगायत सहभागी थिए ।





  • प्रकाशित मिति : माघ २०, २०७८ बिहीबार २१:४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया