काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा वर्षा र हिउँ परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गएरातिदेखि पहाडी तथा हिमाली भेगमा हिउँ र तराईका धेरै स्थानमा वर्षा भइरहेको हो ।
आज दिउँसो पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । ‘आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरूमा मेघ गर्जन/चटयाङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ,’ महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।
आज राति प्रदेश-१, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज केही स्थानमा भारी वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट जोगिनका लागि आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0