नेताको कुदृष्टिका कारण देश बिग्रियो : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेताको कुदृष्टिको कारणले गर्दा देश बिग्रिएको बताएका छन् ।

शुक्रबार पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले नेताको कारण देश बिग्रिएको बताएका हुन् ।

नेताहरूको चरित्र असल भएको भए देशको यो हालत नहुने भन्दै उनले नेताको कुदृष्टिका कारण देश बिग्रिएको बताए । देश बिग्रिनुको पहिलो दोष राजनीतिज्ञलाई जाने उनले बताए ।

मन्त्री आलेले आजको दिनसम्म मन्त्रालय अन्तर्गतको विभिन्न अनियमितताको अध्ययन गर्नमै आफ्नो समय खर्च भइरहेको उल्लेख गरे ।

उनले तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले बतास समूहसँग सेटिङ गरि सस्तोमा जग्गा भाडामा उपलब्ध गराउनेदेखि विभिन्न निकायमा बतास समूहसँग सम्बन्धित मान्छेलाई राजनीतिक नियुक्ति दिलाएको आरोप पनि लगाए ।

‘नेताहरूको चरित्र असल भएको भए यो नेपाल अहिले यो अवस्थामा हुन्थेन । जम्मै नेताहरूको कुदृष्टिको कारणले गर्दा भएको हो । यो देश बिग्रिने पहिलो कारण भनको पोलिटिसिएन । सेकेण्ड चाहिँ ब्युरोक्र्याट पनि होलान् । तर, सबभन्दा बढी दोषी भनेको पोलिटिसियन हुन्,’ उनले भने ।



उनले मन्त्रीहरूले राजनीतिक नियुक्ति दिलाउनको लागि बार्गेनिङ गर्ने गरेको देखेको पनि बताए । मन्त्रीसँग आर्थिक बार्गेनिङ गरेर नियुक्त भएको मान्छेले काम नगर्ने र पैसा कमाउने मात्रै उद्देश्य राख्ने पनि उनले उल्लेख गरे ।

मन्त्री आलेले सबै अप्ठ्यारा कानुनलाई संशोधन गरेर पर्यटन क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने बताए । सरकारले पर्यटकीय क्षेत्रको नयाँ गन्तव्य खोजी भइरहेको भन्दै उनले सो गन्तव्यको विश्वभर प्रचारप्रसार गरेर धेरैभन्दा धेरै पर्यटक भित्राउनुपर्नेमा जोड दिए ।



  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार १९:०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया