प्रचण्डका दुई अंग्रेजी हस्ताक्षर : जसका कारण पहिले ओलीसँग, अहिले देउवासँग सम्बन्ध चिसियो

०७५ माघ ११ गते तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक प्रेस विज्ञप्ति जारी गरे । जसको विषय थियो– भेनेजुयलामा सम्पन्न राष्ट्रपतिको निर्वाचन र त्यसको परिणामपछिको अवस्था ।

विपक्षी नेता जुआन गुआइडोले आफूलाई कार्यबाहक राष्ट्रपतिको रुपमा स्वघोषणा गरेपछि प्रचण्डले नेकपाको नाममा विज्ञप्ति जारी गर्दै मोदुरोलाई नै राष्ट्रपति बनाउनुपर्ने आधिकारिक धारणा सार्वजनिक गरेका थिए । 

नेकपाको एक अध्यक्षका रुपमा प्रचण्डले सार्वजनिक गरेकोसो विज्ञप्ति उनका लागि निकै भारी बन्न पुग्यो । अमेरिकाले सैन्य हस्तक्षेप गर्ने योजना बनाएको र विपक्षी नेताको घोषणालाई ‘ग्राण्ड डिजाइन’ भएको प्रचण्डले विज्ञप्तिमार्फत भनेका थिए । तर, नेकपाकै अर्का अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै प्रचण्डको उक्त विज्ञप्तिमाथि विमति राखिदिए । 

त्यतिबेला ओली भ्रमणका लागि स्विट्जरल्याण्ड गएका थिए । पार्टीको सम्पूर्ण अधिकार प्रचण्डलाई सुम्पिएर स्विट्जरल्याण्ड गएका ओली विज्ञप्ति निस्किएको भोलिपल्टै नेपाल फर्किए । नेपाल फर्कनेबित्तिकै विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले विज्ञप्तिबारे आफू जानकार नभएको बताएका थिए ।

त्यसपछि टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’मा सोधिएको प्रश्नको जवाफमा ओलीले ‘आफू नेपालमा भएको भए भेनेजुयलाबारे त्यस्तो विज्ञप्ति नआउने’ प्रतिक्रिया दिएका थिए । साथै, वक्तव्यमा ‘स्लिप’ भएको ओलीको भनाइ थियो । प्रचण्डले पार्टीभित्र कुनै सल्लाह नगरी आफ्नो मात्रै हस्ताक्षर गरेर विज्ञप्ति निकालेको भन्दै ओली रिसाएका थिए ।



ओलीले टेलिभिजन कार्यक्रममार्फत आफ्नो विज्ञप्तिबारे त्यस्तो अभिव्यक्ति दिएपछि प्रचण्डले भोलिपल्टै गृहजिल्ला चितवन पुगेर त्यसको काउन्टर दिएका थिए । चितवन पुगेका प्रचण्डलाई सञ्चारकर्मीले प्रधानमन्त्रीले त तपाईंको वक्तव्य चिप्लिएकै हो भन्नुभएको छ नि ? भन्ने प्रश्न सोधेका थिए । जवाफमा उनले भने, ‘प्रधानमन्त्रीजीले कुन सन्दर्भमा कसरी भन्नुभयो मैले हेरेको छैन । तर, प्रधानमन्त्रीजीसहित बसेको सचिवालय बैठकले त्यही स्पिरिटमा वक्तव्य जारी गरिसकेपछि व्यक्तिले कसले के भन्छ, त्यसले अर्थ राख्दैन ।’

त्यसपछि ओली र प्रचण्डबीचको अन्तर्संघर्ष फस्टाउँदै गएको थियो । त्यतिबेला एक भएका नेकपा एमाले र माओवादी केन्द्र अहिले तितरबितर भइसकेको छ । नेकपाकालीन बेलामा प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेस अहिले मुख्य घटकको रुपमा पाँचदलीय गठबन्धन सरकारको नेतृत्वमा छ ।
 
माओवादी केन्द्र कांग्रेसपछिको ठूलो दलको रुपमा सत्ता गठबन्धनमा छ । जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले उनीहरुलाई सघाइरहेका छन् ।
 
भेनेजुयला प्रकरणमा प्रचण्डले गरेको त्यही अंग्रेजी हस्ताक्षरका कारण ओलीसँग सम्बन्ध बिगारेका प्रचण्डको पुनः सोही हस्ताक्षरका कारण देउवासँग पनि सम्बन्ध ‘चिसो’ बन्न थालेको छ । देउवा र प्रचण्डले एमसिसी अध्यक्षलाई पठाएको पत्र सार्वजनिक भएसँगै उनीहरुबीच सम्बन्ध ‘चिसिएको’ हो ।
 
आइतबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गर्ने योजनामा थिए, प्रचण्ड । निर्वाचन र एमसिसीलगायत विषयमा छलफल गर्ने तयारी उनको थियो । तर, एकाएक बालुवाटारबाट प्रचण्डको हस्ताक्षरसहितको पत्र सार्वजनिक भयो ।



उक्त पत्र सार्वजनिक भएपछि बालुवाटार हिँड्न लागेका प्रचण्ड खुमलटारमै रोकिए । र, देउवालाई फोन लगाए । टेलिफोन संवादमा देउवासँग प्रचण्डले ‘अहिले नै त्यो पत्र किन सार्वजनिक गरेको ?’ भन्दै प्रश्न राख्न भ्याए । जवाफमा देउवाले ‘तपाईंको कुरा बुझेँ’ भन्दै फोन राखेका थिए ।

त्यसपछि देउवाले एमाले अध्यक्ष ओलीलाई बालुवाटार बोलाए । सर्वोच्च अदालतको आदेशबाट बालुवाटार छाडेको २०३ दिनपछि ओली देउवाको बोलावटमा बालुवाटार पुगेका छन् । सँगै माओवादी अध्यक्ष प्रचण्डलाई पनि देउवाले सँगै राखेर छलफल गरेका छन् । यसअघि प्रचण्डलाई बोलाएर सहमति नजिक पुर्याउने कोसिस गरेका देउवा प्रचण्ड सकारात्मक नभएसँगै पत्र सार्वजनिक गराएर ओलीसहितको भेट गराएका हुन् । 

जसका कारण प्रचण्डमा संशय पैदा भएको छ । चाँडै गर्ने भनिएको स्थानीय तहको निर्वाचन रोकेर देश संसदीय निर्वाचनमा पो जाने हो कि ? भन्ने भय प्रचण्डमा बढेको छ । सँगसँगै, देउवासँगको सम्बन्ध बिग्रिएर गठबन्धन नै फुट्नसक्ने तनावमा परेपछि प्रचण्ड वार्ताका लागि तयार भएका हुन् । 
 

  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार १८:५५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया