आयोगले ३० बैशाखमा निर्वाचन गर्दा खासै कानुन परिवर्तन गर्नुपर्दैन भनेको छ : प्रवक्ता कार्की
फाइल फाेटाे

सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

उनका अनुसार निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गर्नका लागि सरकारलाई प्रस्ताव पेस गरेको थियो । यद्यपि आज बसेको मन्त्रिपरिषद बैठकले भने ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको हो । 

स्थानीय निर्वाचनसम्बन्धी ऐन र संविधानमा उल्लेखित व्यवस्था बाझिएको भन्दै निर्वाचन कहिले गर्ने भन्ने अन्यौलता बढेको थियो । संविधान र कानुन बाझिँदा देखिएको समस्यालाई मध्यनजर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयाेगसँग परामर्श पनि गरेको थियो । 

आयोगको परामर्श अनुसार क्याबिनेटले सो निर्णय गरेको छ । प्रवक्ता कार्कीका अनुसार ३० बैशाखमा निर्वाचन गर्दा कुनै कानुनी समस्या नहुने निर्वाचन आयोगले सरकारलाई जानकारी गराइसकेको छ । 

कार्कीले बालुवाटारमा मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीसँग भने, ‘बैशाख ३० गते एकै चरणमा निर्वाचन गर्दा जेठ ४ गतेलाई निर्वाचन आयोगले प्रस्ताव पेस गरेको थियो । तथापि सरकारले बैशाख ३० गते निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ । बैशाख ३० वा जेठ ४ गते निर्वाचन गर्दा कानुनमा खासै परिवर्तन गर्नु नपर्ने कुरा आयोगले सरकारलाई जानकारी गराएको छ ।’





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १७:३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया