एमसिसीबारे समितिमा छलफल, जनमतसंग्रह गरेर टुंगाे लगाउन माओवादी सांसदकाे माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले एमसिसीबारे पत्राचार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई कारबाही गर्नुपर्ने माग राखेका छन् । 

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता रावलले राष्ट्रको स्वाधिनतामाथि नै गम्भीर आँच आउने सो सम्झौता अनुमोदन गर्छौं भनेर प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसिसीलाई पत्राचार गरेको भन्दै उनले दुवै नेतालाई कारबाही गर्नुपर्ने बताएका हुन् । 

सोमबार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले सोबारे छानबिन गर्न पनि समितिसँग आग्रह गरे । प्रतिनिधिसभामा विचाराधिन सो विषयमा पत्राचार गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै उनले आपत्ति जनाएका हुन् । 

यो कदम कूटनीतिक क्षेत्रलाई फितलो बनाएर देशको स्वाभिमानमाथि धक्का पुग्दै छ भन्ने ज्वलन्त नमुना भएको उनको भनाइ छ । यो अन्तराष्ट्रिय सम्बन्ध समितिको सरोकारको विषय बन्नुपर्ने उनले बताए । 

नेता रावलले राष्ट्रको स्वाभिमान झुक्ने गरी प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसिसीलाई पत्राचार गरेर कूटनीतिक क्षेत्रमा अमर्यादित व्यवहार प्रदर्शन गरेको पनि बताए । 

बैठकमा बोल्दै सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले एमसिसीजस्तो गम्भीर विषयमा खुलस्त छलफल गर्न संसद सुचारु गराउने वातावरण बनाइदिन एमाले नेता रावलसँग आग्रह गरे । एमसिसीको विषयलाई लिएर सरकारलाई मात्रै आलोचना गर्न नहुने पनि उनले बताए । 



त्यस्तै, सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किरातीले एमसिसी जनमत संग्रह गरेर अनुमोदन गर्ने वा नगर्ने टुंगोमा पुर्याउनुपर्ने बताए । एमसीसीले मुलुकको राष्ट्रियतामाथि प्रश्न उठाएको तथ्य नभुल्न सरकार र विभिन्न पार्टीका नेतालाई सचेत गराउँदै उनले यो सुरक्षा रणनीतिसँग जोडिएको गम्भीर विषय भएकाले जनमत संग्रहमा लगेर टुंगो लगाउनुपर्ने बताए । 



  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १८:५२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया