प्रकाण्ड एमाले प्रवेश गर्न लागेको हल्ला 'भगौडाहरुको भ्रमपूर्ण प्रचार'

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा नेकपा एमालेमा प्रवेश गर्न लागेको चर्चाले राजनीतिक वृत्तमा तरंग ल्याएको छ । सामाजिक सञ्जालमा मात्र होइन, केही सञ्चारमाध्यममा समेत प्रकाण्ड एमाले प्रवेश गर्न लागेको भनेर समाचार आउन थालिसकेका छन् । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेर गत फागुन २१ मा सार्वजनिक भएका विप्लवसँग सरकारले गरेको तीनबुँदे सहमति अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन । कपिलवस्तुबाट सार्वजनिक भएर काठमाडौंको प्रज्ञा भवनमा देखिएका विप्लवले ओलीकै आश्वासनमा आफ्ना माग पूरा हुने सोचेका थिए । तर, अहिलेसम्म पनि सरकारले विप्लव समूहका कार्यकर्ताको रिहाइदेखिका अन्य मागमा ध्यान दिन सकेको छैन । 

पछिल्लो समय विप्लव नेतृत्वको नेकपाबाट धमाधम नेताहरु अन्य दलमा प्रवेश गर्न थालेपछि प्रकाण्ड पनि एमालेमा प्रवेश गर्ने चर्चा सुरु भएको हो । तर, अहिलेसम्म त्यस्तो कुनै तयारी नभएको प्रकाण्ड सचिवालय टिमले जानकारी गराएको छ । ‘जनतामा भ्रम फैलाउनेगरी प्रकाण्ड एमाले प्रवेश भनेर हल्ला सुरु भएको रहेछ । हाम्रै पार्टी छाडेर गएका भगौडाहरुले सुरु गरेको अभियान मात्र हो त्यो । अरु केही होइन ।’ प्रकाण्डकै टिमका एकजना नेताले फरकधारलाई बताए । 

हामीले उनलाई चाँडै एमालेमा प्रवेश गर्ने तयारी भइसकेको छ रे नि त ? भनेर पूरक प्रश्न गर्दा उनले अहिले त्यस्तो कुनै पनि सम्भावना नरहेको प्रस्ट पारे । बरु, अहिले पार्टी छाडेर प्रचण्ड र वैद्यतिर लागेका केही कार्यकर्ताले असन्तुष्टि पोख्नका लागि यस्तो भ्रमपूर्ण प्रचार गरेको प्रकाण्डनिकटका ती नेताले बताए । 

यसरी भ्रमपूर्ण प्रचार गरिरहेकाहरुको बारेमा सूक्ष्म तरिकाले आफ्नो टिममा बुझ्ने प्रयास भइरहेको पनि ती नेताले फरकधारलाई बताए । पछिल्लो समय नेत्रविक्रम चन्द र प्रकाण्डबीच सम्बन्ध बिग्रिएको प्रचार गरेकोप्रति पनि उनीहरुको आपत्ति छ । ‘उहाँहरु दुईजना (विप्लव र प्रकाण्ड)बीच एकदमै राम्रो सम्बन्ध छ । अहिलेसम्म कुनै पनि समस्या उहाँहरुको सम्बन्धमा आएको छैन । उहाँहरु मिलेर नै पार्टीको लक्ष्य प्राप्तिमा लाग्नुहुनेछ,’ ती नेताले भने । 

०६४ को संविधानसभा चुनावमा कालिकोटबाट प्रत्यक्ष निर्वाचित भएका प्रकाण्ड यसअघि पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत भइसकेका छन् । उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा मन्त्री भएका थिए । तर, राजनीतिक उतारचढावपछि तत्कालीन नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्यले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी) छाडेपछि उनी पनि वैद्यसँगै बाहिरिएका थिए । पुनः विप्लवको नेतृत्वमा प्रकाण्डसहितका नेताले वैद्यलाई छाडेर आफ्नै नयाँ समूह बनाएका थिए ।





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार २२:२१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया