आइसिसी पुरुष टी-२० विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान प्रस्थान गर्दैछन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली मंगलबार राति ८ बजे ओमान प्रस्थान गर्न लागेको हो ।
ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् । छनोटका खेल १८ फेब्रुअरीदेखि २४ फेब्रुअरीसम्म हुनेछन् ।
समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान तथा समूह ‘बी’ मा युएई, बहराइन, आयरल्याण्ड र जर्मनी छन् । नेपालले १८ फेब्रुअरीमा आयोजक ओमानसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । यो खेल ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।
नेपालले दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा १९ फेब्रुअरीमा खेल्नेछ । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल क्यानडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा २१ फेब्रुअरीमा खेल्ने तालिका छ ।
समूह चरणको खेलपछि प्रत्येक समूहका शीर्ष दुई सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरू २२ फेब्रुअरी तथा फाइनल २४ फेब्रुअरीमा हुनेछ ।
फाइनल प्रवेश गर्न टोली अस्ट्रेलियामा १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म हुने आइसिसी पुरुष टी-२० विश्वकपका लागि छनोट हुनेछन् ।
छनोटअघि नेपालले ओमानमा चारदेशीय टी-२० सिरिज खेल्नेछ । सिरिजमा नेपालसहित आयरल्याण्ड, युएई र ओमान छन् । सिरिजको पहिलो खेलमा नेपालले ओमानविरुद्ध ११ फेब्रुअरीमा खेल्नेछ ।
नेपालले दोस्रो खेल युएईसँग १२ फेब्रुअरीमा र तेस्रो तथा अन्तिम खेल १४ फेब्रुअरीमा आयरल्याण्डको सामना गर्ने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0