भारतको उत्तर प्रदेश चुनावको मिति नजिकिएसँगै नेताहरूले एकअर्काको तीव्र आलोचना गर्न सुरु गरेका छन् । नेताहरूले सामाजिक सञ्जालमार्फत एकअर्काको कडा आलोचना गरिरहेका हुन् ।
गएराति दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवाल र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सामाजिक सञ्जालमा दोहोरी नै चलेको छ । दिल्लीका मुख्यमन्त्री केजरीवालले प्रवासी मजदुरको बारेमा लोकसभामा प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको भाषण झुठ भएको बताएपछि दुवै पक्षले एकअर्कालाई निशाना बनाएका हुन् ।
केजरीवालको टिप्पणी देखेपछिपछि उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले ट्विटरमा लेखका छन्, ‘सुन केजरीवाल, जब सबै मानिस कोरोनाको पीडामा थिए, त्यति बेला तिमीले यूपीका कामदारलाई दिल्लीबाट छोड्न बाध्य बनायौं । साना बालबालिका र महिलाहरूलाई मध्यराति यूपीको सीमामा बिनासहायता छोडेर अलोकतान्त्रिक र अमानवीय कार्य तिम्रो सरकारले गर्यो ।’
लगत्तै उनले थप दुई ट्विट गरे । ‘केजरीवालमा झुठ बोल्ने कला छ । सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा सिङ्गो देश कोरोनाजस्तो विश्वव्यापी महामारीसँग लडिरहेको बेला केजरीवालले प्रवासी मजदुरहरूलाई दिल्लीबाट बाहिर निस्कने बाटो देखाए,’ आदित्यनाथले लेखेका छन् ।
अर्को ट्विटमा उनले भनेका छन्, ‘ बिजुली-पानी जडान काटियो र सुतिरहेका मानिसहरूलाई उठाएर बसद्वारा यूपी सीमामा पठाइयो । घोषणा गरिएको थियो कि बसहरू आनन्द विहारको लागि जाँदैछन्, त्योभन्दा पछाडि यूपी-बिहारका लागि बसहरू उपलब्ध हुनेछन् । यूपी सरकारले प्रवासी मजदुरहरूको लागि बसको व्यवस्था गर्यो । र, तिनीहरूलाई सुरक्षित रूपमा फिर्ता ल्यायो ।’
आदित्यनाथको आरोपहरू देखेपछि केजरीवालले पनि जवाफ फर्काए । र, उनले लेखे, ‘सुन्नुहोस् योगी, तिमी त्यहाँ हुनुपर्छ । जसरी यूपीका जनताको लाश खोलामा बगिरहेको थियो । र, तिमी करोडौं खर्च गरेर टाइम्स पत्रिकामा आफ्नो झुठो ताली बजाउने विज्ञापन दिइरहेका थियौं । तिमी जस्तो निर्दयी र निर्दयी शासक मैले देखेको छैन ।’
प्रधानमन्त्री मोदीले लोकसभामा दिल्ली सरकारले कोरोनाकालमा उत्तर प्रदेशका श्रमिकप्रति न्याय नगरेको अभिव्यक्ति दिएका थिए । ‘त्यो बेला दिल्लीमा यस्तो सरकार थियो, र छ पनि । त्यो सरकारले त जिपमा माइक बाँधेर दिल्लीको झुपडीमा गएर गाडी घुमाएर सर्वसाधारणसँग भनेको थियो– संकट बढ्दैछ, भाग्नुस्, गाउँ जानुस् । र, दिल्लीबाट जानको लागि बस दिइएको थियो । उनीहरूले आधा बाटोमै छोडिदिए । र, दिल्ली सरकारले सर्वसाधारणलाई समस्या दियो,’ मोदीले भनेका छन् ।
मोदीको आरोप सुनेपछि मुख्यमन्त्री केजरीवालले ट्विटरमार्फत जवाफ दिएका छन्, ‘प्रधानमन्त्रीको यो भनाइ सरासर गलत हो । कोरोनाको पीडामा परेका, आफन्त गुमाएकाहरूप्रति प्रधानमन्त्री संवेदनशील बन्नुहुनेछ भन्ने देशको आशा छ । जनताको पीडामा राजनीति गर्नु प्रधानमन्त्रीलाई सुहाउँदैन ।’
यो ट्विट देखेपछि भाजपाका नेतासमेत रहेका आदित्यनाथले केजरीवाललाई निशाना बनाए । र, उनले ट्विट गरे, ‘सम्माननीय प्रधानमन्त्रीविरुद्धको अरविन्द केजरीवालको आजको भनाइ अत्यन्त निन्दनीय छ । केजरीवालले सम्पूर्ण राष्ट्रसँग माफी माग्नुपर्छ ।’
स्मरण रहोस् उत्तर प्रदेशमा छिट्टै निर्वाचन हुँदैछ । यहाँ पहिलो चरणको मतदान १० फेब्रुअरी र अन्तिम चरणको मतदान ७ मार्चमा हुनेछ । चुनावको नतिजा १० मार्चमा आउनेछ । चुनावको मिति नजिकिसँगै नेताहरूबीच सामाजिक सञ्जालमा शब्दयुद्ध चलिरहेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।