ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । आइसिसी टि-२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमान जान लागेको नेपाली टोलीलाई बिदाइ गरिएको हो ।
मंगलबार भर्चुअल माध्यमद्वारा आयोजित बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले खेलाडीहरूलाई बिदाइ गरेका हुन् ।
कोरोना संक्रमण जोखिमका कारण नेपाल क्रिकेट संघ (क्यान)ले भर्चुअल माध्यमद्वारा मंगलबार बिहान बिदाइ कार्यक्रम आयोजना गरेको हो । विश्वकपमा छनोटका लागि हुने खेलका लागि नेपाली टोली मंगलबार राति ८ः३० बजे ओमान प्रस्थान गर्ने तालिका रहेको छ।
ग्लोबल छनोटका लागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनीबीच खेल हुने भएको छ । फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनौट खेल अन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् भने समूह ‘बी’मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्।
छनोट अघि नेपालले ओमानमा चार देशीय टि-२० सिरिज खेल्ने तालिका समेत रहेको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले जनकारी दिए । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।
खेलाडीहरूलाई बिदाइ गर्दै मन्त्री अथकले विश्वकपका लागि ग्लोबल छनोट भएर आउन शुभकामना दिए । नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगति गरेको भन्दै मन्त्री अथकले यस पटक विश्वकपका लागि नेपाली टोली छनौट हुनेमा आफू विश्वस्त रहेको बताए।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले विगतमा देखिएका कमीकमजोरीलाई सच्याउँदै क्रिकेटको विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिए । साथै खेलाडीहरूलाई उच्च मनोवलका साथ उत्कृष्ट खेल प्रदर्शनका लागि समेत शुभकामना दिए ।
बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला लगायतको उपस्थिति रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।