दार्चुलाका किसान ओखर खेतीमा आकर्षित

ओखर खेतीका लागि दार्चुला उर्वरभूमि हो । अधिकांश ठाउँमा ओखरका बोट देख्न पाइन्छ । कसैले व्यावसायिक रुपमै खेती पनि गरिरहेका छन् । सरकारले दार्चुलालाई ओखर पकेट क्षेत्र घोषणा गरेपछि यहाँका किसान ओखर खेतीतर्फ थप आकर्षित हुँदै गइरहेका हुन् ।

विगतदेखि नै ओखर खेती गर्दै आएका दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ पनेबाजका धम्रसिंह धामी पनि ओखर खेतीलाई थप विस्तार गर्दै छन् । बुवा, बाजेले लगाएका दुई–चार बोटबाट खेती सुुरु गरेका धामीको बारीमा अहिले साना–ठूला गरेर डेढ सय ओखरका बोट छन् । उनले एक सय बोट दुई वर्षयता मात्रै लगाएका छन् । बारीमा भएका ५० बोटले अहिले उत्पादन दिइरहेका छन् ।

‘दुई वर्षयता मैले एक सय बोट नयाँ बिरुवासमेत रोपेको छु,’ उनले भने, ‘ओखर खेतीबाट राम्रै होला भन्ने आशा छ ।’ उनले आफ्नो उत्पादन दार्चुलाको गोकुलेश्वर र डडेलधुराको स्याउलेसम्म निर्यात गरिरहेका छन् । उनी आफूले उत्पादन गरेका र गाउँघरबाट पनि उत्पादित ओखर संकलन गरेर पनि बजारसम्म पुर्याउने काम गरिरहेका छन् । 

‘आफ्नो मात्रै ओखर बेचेर वार्षिक २० हजारसम्म आम्दानी हुन्छ,’ उनले भने, ‘गाउँघरको संकलन गरेर बेच्दा वार्षिक ५० हजारभन्दा बढी आम्दानी गरिरहेको छु ।’ ओखरले पछिल्लो समय राम्रो बजार लिइरहेको छ । तर, स्थानीय किसानलाई चीनबाट आयात हुने ओखरका कारण उचित मूल्य नपाइने हो कि भन्ने चिन्ता भइरहन्छ । 

सरकारले दार्चुलालाई ओखर पकेट क्षेत्रका रुपमा समेत घोषणा गरेपछि धामीसहित यहाँका किसान ओखर खेतीतर्फ थप आकर्षित भएका छन् । सामान्य खेती गर्दै आएका किसानहरु पनि खेतीलाई थप वृद्धि गर्दै गइरहेका छन् ।

शैल्यशिखर नगरपालिकाको वडा नम्बर ५, ६, ७ र मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ४ गरेर एक सय घरधुरीले ओखर खेती गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकरण प्रयोजना कार्यान्यन एकाइ दार्चुलाका कार्यालय प्रमुख विष्णु ओझाले बताए । 



उनले किसानलाई अनुदानमा पनि ओखरका बिरुवा वितरण भइरहेको बताए । ‘किसानहरुलाई ५० प्रतिशत अनुदानमा ओखरको बिरुवा वितरण गर्न भनेर यस वर्ष १७–१८ लाख रुपैयाँको कार्यक्रम छ,’ प्रमुख ओझाले भने, ‘दुई वर्षमा फल्ने ओखरको जात ल्याउन लागेको पनि बताए । टर्कीको च्यान्डुलर जातको ओखर समेत दार्चुलामा लगाउने तयारी छ ।

जिल्लाका ६० जना कृषक समूह सहकारीमार्फत आएका समूहलाई ओखरका विरुवा वितरण गर्ने बताइएको छ । दार्चुलाको नौवटै स्थानीय तहका किसान ओखर खेतीमा आकर्षित भएको ओझाले बताए । 



यस वर्ष दुईवटा पालिकाबाहेक अरु पालिकामा ओखरको माग बढेको उनको भनाइ छ । गत वर्ष २५ सय टर्की ओखरको बिरुवा किसानलाई वितरण गरेका थियौँ,’ उनले भने, राम्रै थियो त्यसको प्रतिफल ।’ करिब २१६ वटा कृषक सहकारी समूहबाट यो कार्यक्रम सञ्चालन हुने गरेको उनले बताए । 

उनले दार्चुलाको लोकल ओखर सस्तोमा पाइने गरेको र विदेशी ओखर महँगो हुने गरेको बताए । ‘यस ठाउँको ओखर भन्ने ठाउँको लोकल ओखर कम मूल्यमा पाइन्छ,’ उनले भने, ‘विदेशी टर्कीको फेम्स जातको ओखर (क्याडुलर) जातको ओखर झण्डै नौ सय आसपासमा पाइन्छ ।

  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार १७:५७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया