कञ्चनपुरको शुक्लाफाँटामा बाघ गणना कार्य सुरु

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शनिबारदेखि बाघ सर्वेक्षण तथा गणना कार्य सुरु गरिएको छ । निकुञ्जको मुख्यालय मजगाउँमा वन तथा भू–संरक्षणमन्त्री रामसहायप्रसाद यादवले सर्वेक्षण कार्यको सुरु गरेका हुन् ।

शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा क्यामेरा जडान गरेर बाघ गणना सर्वेक्षणको कार्य सुरु गरिएको हो । बाघ गणना २१ दिनसम्म चल्नेछ । कम्प्लेक्सलाई २ किलोमिटर लम्बाइ र २ किलोमिटर चौडाइ भएको २ सय ६० वटा ग्रिडमा विभाजन गरी सर्वेक्षण कार्य अघि बढाइने निकुञ्जले जनाएको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अघिकृत किशोरकुमार महतोले बाघको फोटो खिच्नका लागि स्वचालित क्यामरा जडान गरिएको बताए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चाँदमारी, शुक्लाफाँटा, बेलडाँडी हिरापुर गरी ४ स्थानमा र डिभिजन वन कार्यालय कञ्चनपुरअन्तर्गत तिलकेनी, बेदकोट, दोमिल्ला र डाँडाजाई गरी ४ स्थान तथा डडेल्धुराको आलिताल, नाउला र चिरकिटेमा गरी ११ स्थानमा क्याम्प रहनेछन् ।

११ क्याम्प मध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र ९५ ग्रिडमा १ सय ९० क्यामेरा, लालझाडी–ब्रम्हदेव क्याम्पमा १ सय ७ ग्रिडमा २ सय १४ र डिभिजन वन कार्यालय डडेल्धुरा गोजबुढामा ५८ ग्रिडमा १ सय १६ वटा क्यामेरा जडान गरिएका छन् । हरेक ग्रिडमा एक जोडी क्यामेरा १५ दिनसम्म सञ्चालन हुनेछन् । 

बाघ सर्वेक्षणका लागि जम्मा ५ सय २० क्यामरा, ७० जना प्राविधिक, ५ हात्ती परिचालन हुनेछन् । स्वचालित क्यामरा, सन्टो कम्पास, रेन्ज, फाइन्डर र जिपिएस उपकरणमार्फत रेकर्ड गरिनेछ । बाघ बस्ने स्थानमा जोडीका हिसाबले क्यामेरा राखिएका छन् भने बाघ हिँड्दा दुवैतर्फ क्यामेराले खिच्ने निकुञ्ज कार्यालयले जनाएको छ ।





  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार १७:३३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया