सत्ता गठबन्धनका सांसदले संसद सचिवालयमा दर्ता गराएको अभियोग पत्रबारे प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जानकारी गराइएको छ ।
संसद सचिवालयले उनीसहित ६ संवैधानिक निकायलाई यसबारे जानकारी गराएको हो । प्रधानन्यायाधीश जबराले महाअभियोग लागेको पत्र बुझेका छन् । उनी पत्र बुझेलगत्तै सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।
आइतबार सत्ता गठबन्धनका सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध २१ बुँदे अभियोग पत्र संसद् सचिवालयमा दर्ता गरेका हुन् । महाभियोग पत्रमा कांग्रेस सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले प्रस्ताव गरेका छन् । उक्त प्रस्तावमा ९८ सांसदले हस्ताक्षर गरेका छन् ।
महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा परेका छन् । नेपालको संविधानको धारा १०१ को उपधारा ६ अनुसार उनी स्वतः निलम्बित भएका हुन् । अब यो महाभियोगको टुंगो नलागेसम्म उनले कुनै पनि काम गर्न पाउने छैनन् । जबरा निलम्बनमा परेपछि वरिष्ठ न्यायाधीश दीपक कुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।