कानुनमन्त्री भन्छन् : प्रधानन्यायाधीशविरुद्धको महाभियाेगलाई एमालेले पनि समर्थन गर्छ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि साथ दिने बताएका छन् ।

आइतबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालय महाअभियोगको प्रस्ताव दर्ता गराएका हुन् । 

सो क्रममा बोल्दै मन्त्री बडूले प्रधानन्यायाधीश जबराबिरुद्ध संवैधानिक निकास आवश्यक रहेको भन्दै दुई तिहाईले यसलाई समर्थन गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘सम्माननीय प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको छ । झन्डै ४ महिनादेखि न्यायप्रक्रिया र संवैधानिक प्रक्रियाका सबै प्रक्रियाहरू अवरुद्ध अवस्थामा छन् । यसरी गतिरोधमा यदि न्यायपालिका रह्यो भने न्यायपालिकाको आवश्यकता र यसको गरिमामाथि प्रश्न उठ्ने अवस्था आइरहेको थियो । त्यसकारणले पनि प्रतिनिधिसभाका सांसदहरूले जुन संवैधानिक निकास खोज्ने प्रयास गर्नुभयो, अब यो प्रक्रिया अघि बढ्छ । र संवैधानिक निकास अब यो गतिरोधले पाउँछ । मलाई लाग्छ दुई तिहाईले पनि यसलाई समर्थन गर्छ । संवैधानिक प्रक्रियामा सबैको सहयोग हुन्छ र न्यायप्रक्रिया धेरै दिन अवरुद्ध हुँदैन ।’

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठको प्रस्ताव तथा नेपाली कांग्रेसका सांसद मिनेन्द्रप्रसाद रिजाल लगायत गठबन्धनका ९५ जना सांसदहरूको समर्थनमा महाअभियोग प्रस्ताव दर्ता भएको हाे । 
 





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १४:७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया