सहिद स्मारक ए डिभिजन लिग समाप्तिकाे नजिक पुग्दै गर्दा रेलिगेसन जोनमा रहेका टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक मोडमा पुगेको छ । लिगमा अब तीन चरणका खेलमात्र बाँकी छन् ।
लिगको १० औं चरणको समाप्तिसम्ममा शीर्ष स्थानको साविक विजेता मछिन्द्रले उपाधि रक्षा गर्ने लगभग पक्का भइसकेको छ । उसले दोस्रो स्थानको मनाङसँग ६ अंकको दुरी कायम गरेको छ।
अब बाँकी तीनमध्ये एक खेलमा जित हात पारे मछिन्द्रलाई लिग उपाधि उचाल्न पर्याप्त बन्नेछ ।
लिगको १० औं चरणमा आएर फ्रेन्ड्सले पहिलो जित निकालेसँगै अब लिगमा कुनै पनि टोली जितविहीन छैनन् । यो जितसँगै फ्रेन्ड्स पहिलोपटक रेलिगेसन क्षेत्रबाट पनि माथि उक्लिएको छ ।
१० औँ चरणका सातमध्ये तीन खेलमा जित हारको नतिजा निस्किँदा ४ खेल बराबरीमा सकियो । यो चरणमा कुल १४ गोल भए ।
रोमाञ्चक बन्दै रेलिगेसन होड
लिगमा शीर्ष स्थानको प्रतिस्पर्धा फितलो बन्दा रेलिगेसन होड भने निकै रोमाञ्चक बनेको छ । हाल १० खेलमा ब्रिगेड ब्वाइज क्लब ६ तथा च्यासल युथ क्लब ५ अंकका साथ रेलिगेसन जोनमा छन् ।
उनीहरूभन्दा माथि रहेका १२ औँ स्थानको फ्रेन्ड्स, ११ औँ स्थानको जावलाखेल, १० औँ स्थानको नेपाल पुलिस क्लब र नवौं स्थानको नेपाल एपिएफ क्लबको क्रमश : ६, ९, १० र ११ अंक छ ।
लिगको ११ औँ चरणमा फ्रेन्ड्सले जावलाखेल र च्यासलले ब्रिगेड ब्वाइजको सामना गर्नेछन् । त्यस्तै १२ औँ चरणमा फ्रेन्ड्स र च्यासल आमनेसामने हुनेछन् । यी तीन खेलका नतिजाले केही हदसम्म रेलिगेसन होड कस्तो बन्ने छ भन्ने तय गर्नेछ ।
फ्रेन्ड्सले आफ्नो अन्तिम खेलमा हिमालयन शेर्पासँग खेल्दा च्यासलले सादोबाटोसँग भिड्नेछ । त्यस्तै ब्रिगेडले १२ औँ चरणमा सातदोबाटो र १३ औं चरणमा थ्रिस्टारको सामना गर्दा जावलाखेलले हिमालयन शेर्पा र संकटासँग प्रतिस्पर्धा गर्नेछ ।
संकटासँग बराबरीमा रोकिएपछि एपिएफका प्रशिक्षक कुमार थापाले अझै पनि रेलिगेसन खतरा नटरेको बताएका थिए ।
११ अंक रहे पनि एपिएफले बलिया टोलीसँग खेल्न बाँकी छ । उसले अब मनाङ, पुलिस र मछिन्द्रसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै १० अंक मात्र रहेको पुलिसले पनि एपिएफ, थ्रिस्टार र एनआरटीसँग खेल्नेछ ।
फ्रेन्ड्सको पहिलो जित
फ्रेन्ड्स क्लबले लिगको १० औँ चरणमा आएर पहिलो जित दर्ता गरेको छ । फ्रेन्ड्सले शुक्रबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा बिग्रेड ब्वाइजमाथि ५-२ को फराकिलो जित हात पारेको हो ।
फ्रेन्ड्सलाई पहिलो जित दिलाउन जमोल एन्थोनी फ्रेन्कोइस र सुशिल शाहले समान दुई-दुई तथा श्यामबाबु क्यापछकीले एक गोल गरे । यो जितसँगै फ्रेन्ड्स पहिलाे पटक रेलिगेसन जोनबाट बाहिर निस्किएको छ ।
एन्फा कम्प्लेक्समा खेल
ए डिभिजन लिगको १० औँ चरण अन्तर्गत सातदोबाटो युथ क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको थियाे ।
यो खेलमा सातादोबाटोले १-० को जित हात पार्याे । एन्फा कम्प्लेक्स जारी लिगमा प्रयोग भएको तेस्रो मैदान हो । यसअघि त्रिपुरेश्वस्थित दशरथ रंगशाला र पोखरा रंगशालामा खेल खेलाइएको थियो ।
रोचक बन्दै गोल्डेन बुट दौड
लिगको १० औँ चरणसम्म आइपुग्दा गोल्डेन बुटको होड पनि रोमाञ्चक मोडमा पुगेको छ । एन्फाले पहिलोपटक लिगमा सर्वाधिक गोलकर्तालाई गोल्डेन बुटको ब्यवस्था गरेको हो ।
सर्वाधिक गोलकर्ताको सूचीमा मछिन्द्रका सुनिल बल र मनाङ मर्स्याङ्दीका ओलावाले अफिज समान ६ गोलका साथ शीर्ष स्थानमा छन् ।
लिगको १० औँ चरणमा च्यासलविरुद्ध गोल गरेसँगै सुनिल सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका हुन् । सुनिलले लिगमा न्युरोड टिम (एनआरटी) विरुद्ध २, मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबविरुद्ध समान १-१ गोल गरेका छन् ।
च्यासलविरुद्ध ह्याट्रिक पूरा गरेका अफिजले सातदोबाटो, जावलाखेल र फ्रेन्ड्सविरुद्ध समान १-१ गोल गरेका छन् ।
उनीहरूलाई सातादोबाटोका माटिन्स अजयीले पाँच गोलका साथ पछ्याइरहेका छन् । त्यसैले लिगका बाँकी तीन चरणका खेलमा गोल्डेन बुटका लागि यी तीन खेलाडीबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
सर्वाधिक गोल भएको खेल
लिगको १० औँ चरण अन्तर्गत शुक्रबार दशरथ रंगशालमा भएको फेन्ड्स र ब्रिगेड ब्वाइज क्लबबीचको खेलमा जारी लिगकै सर्वाधिक ७ गोल भयो । जसमा फेन्ड्सले ५ र ब्रिगेडले २ गोल गरे ।
फ्रेन्डका लागि जमोल एन्थोनी फ्रान्कोइस र सुशील शाहले दुई-दुई तथा स्यामबाबु क्यापछकीले एक गोल गोल गर्दा ब्रिगेडका ड्याडी जुनियर वाम्बा र अनिल गुरुङको नाममा एक-एक गोल रह्यो ।
यसअघि एपिएफ क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेलमा सर्वाधिक ६ गोल भएको थियो । जसमा दुवै टोलीले समान तीन गोल गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।