संसदीय समितिको बैठकमा सहभागी हुँदै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समितिका बैठकमा सहभागी हुने भएका छन् । संसदीय समितिका काम कारवाहीलाई प्रभावकारी बनाउन र सदस्यलाई प्रोत्साहन गर्न उनी बैठकमा सहभागी हुन लागेका हुन् । 

विधायन व्यवस्थापन समितिको आजको बैठकमा उनी सहभागी हुने सभापति परशुराम मेघी गुरुङले जानकारी दिए । धुलिखेलमा गत बिहीबार भएको प्रदेशसभाका उपसभामुखसँगको अनुभव आदान–प्रदान कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले अनुकूलताका आधारमा समिति बैठकमा सहभागी हुने अभ्यासको थालनी गर्ने घोषणा गरेका थिए ।

विधायन व्यवस्थापन समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफल प्रतिवेदन निर्माणको चरणमा छ ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सभामुख र अध्यक्ष भनेको फूलहाउसको नेता भएकाले समितिलाई निर्देशन दिने, आवश्यकतानुसार बैठकमा सहभागी हुने सामान्य विषय भएको प्रतिक्रिया दिए । ‘समिति भनेका मिनी पार्लियामेन्ट हुन्, त्यसले गर्ने सम्पूर्ण कामकारवाही भनेकै फूलहाउसलाई सहयोग पुर्‍याउने हो । हाउसका नेताले समन्वय गर्ने, के छ, कसो छ भनेर बुझ्न र भन्न सकिन्छ,’ उनले भने । 

राष्ट्रियसभा मातहत दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् । 





  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार ७:५६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया