सरकार अविच्छिन्न उत्तराधिकारवाला संस्था हो, प्रचण्डले एमसिसीको नाममा नाटक रचे : ईश्वर पोखरेल
‘बुधबार एमसिसी टेबुल गर्ने सन्दर्भमा थुप्रै नाटक हुन्छन्, हेर्नुहाेला’

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली नेतृत्वको सरकारलाई ढालेर देशमा राजनीतिक अस्थिरता उत्पन्न गरिएको बताएका छन् । मंगलबार प्रेस चौतारी नेपाल धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेलाई कमजोर बनाउने गठबन्धनकारी शक्तिको एक मात्र उद्देश्य रहेको जिकिर गरे । 

उनले एमसिसी टेबुल गर्ने विषयमा विभिन्न नाटक हुने दाबी गरेका छन् । उनले भने,‘एमसिसी टेबुल गर्ने सन्दर्भमा बुधबार थुप्रै नाटकहरु हुन्छन् । त्यो हेर्नुहोला ।’
एमालेले उत्तेजना र आवेशमा आएर केही नगर्ने दाबी गर्दै उनले भने, ‘सोच विचार गरेर फायर मिस नहुने गरी हामी फायर खोल्छौँ । कुन बेला के कदम चाल्नुपर्छ त्यसका लागि हामी तयार छौँ ।’ 

एमालेले राष्ट्रिय राजनीतिलाई गलत दिशातर्फ जान नदिने उल्लेख गर्दै उनले थपे,‘स्थानीय तहको निर्वाचनलाई पर सार्ने खेलअन्तर्गत महाअभियोगको नाटक रचिएको छ । तर, यो निर्वाचनलाई हामी कुनै पनि हालतमा पर सार्न दिदैनौँ ।’

राष्ट्रिय राजनीतिलाई अस्थिर बनाउने काम भइरहेको टिप्पणी गर्दै पोखरेलले भने,‘देश बनाउने सपनालाई चकनाचुर गरिएको छ । आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान तथा स्वतन्त्रता, सामाजिक सद्भावका कुराहरु नेकपा एमालेले विगतदेखि नै उठाउँदै आएको छ । 

एमालेको विरुद्धमा असैद्धान्तिक गठबन्धन गरिएको उनले दाबी गरे । गठबन्धनभित्रै अहिले विभिन्न विचारधाराका व्यक्तिहरु रहेकोले गठबन्धन नटिक्ने दाबी समेत उनले गरे । गठबन्धन राजनीतिक स्थायित्व तथा आर्थिक विकास र समृद्धिको बाधक रहेको पोखरेलको आरोप छ ।
 
प्रचण्डले एमसिसीको नाममा राष्ट्रवादको नारा लगाएर नाटक रचेको उनको आरोप छ । ‘प्रचण्ड र देउवा सरकारमा भएको बेला नै एमसीसी सम्झौता गरिएको थियो,’ उनले भने, ‘सरकार भनेको अविच्छिन्न उत्तराधिकारवाला संस्था हुन्छ । तर, प्रचण्डले एमसिसीको नाममा राष्ट्रवादको नारा लगाएर नाटक रचेका छन् ।’

शेरबहादुर देउवा नेतृत्वको सरकारले निकालेको सयदिने प्रगति विवरणमा नेपालको चुच्चे नक्सा नराखी फुच्चे नक्सा राख्नु आफैँमा हास्यास्पद रहेको समेत उनले बताए ।
   
नेता पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाको टाउकोमाथि झुण्डिएको तरबार राखिएको टिप्पणीसमेत गरे ।





  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार १८:३२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया