प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट युवा संघ नेपालले सडकमा नमुना संसद बनाएर विरोध प्रदर्शन गरेको छ ।
युवा संघले मंगलबार बानेश्वरको सडकमा ‘सडक संसद’ बनाएर प्रतिनिधिसभाको बैठक जस्तै अवरोध गरेर अनौठो शैलीमा विरोध प्रदर्शन गरेको छ ।
नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदबारे सूचना नटाँसेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको विरोधमा युवा संघले विरोध जनाएको छ ।
राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले देउवा नेतृत्वको पाँच दलीय गठबन्धन गरेकाले गरेका राष्ट्रघाती कदमको विरोधमा संघले निरन्तर आन्दोलन गर्दै आएको बताए ।
उनले गठबन्धन सरकारले १४ जना सांसद पद जोगाउन तथा सभामुखको पद जोगाउनको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाएकाले सडकमा आउनु परेको बताए ।
सरकारले सत्ता गठबन्धन टिकाउनको लागि देशको विधि प्रक्रिया,पद्धति प्रणालीको विरुद्धमा धावा बोल्ने र नेपाललाई सधैँ आफ्नो स्वार्थको बन्धक बनाउने प्रयासको विरुद्ध युवा संघ सडक आएको पनि पौडेलले बताए ।
प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताहरूले संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख सापकोटाले राजीनामा दिनुपर्ने भन्दै नाराबाजीसमेत गरेका छन् ।
प्रदर्शनमा पार्टी फुटाउन पाइँदैन, संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा दे, हत्यारा सभामुख राजीनामा दे, गैर सांसदलाई संसदमा निषेध गर, पार्टी फुटाउने षड्यन्त्र निषेध गर । संवैधानिक सर्वोच्चता कायम गरलगायतका नारा लगाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।