एमसिसीको चर्चा, संकटमा सत्तारुढ गठबन्धन

अमेरिकी अनुदान सहयोग परियोजना एमसिसीका कारण दलहरुबीच मतभेद देखिएको छ । यसका कारण सत्तारुढ गठबन्धन पनि अब संकटमा परेको छ । सत्तारुढ गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसिसीको विरोधमा प्रदर्शन गर्न थालेपछि गठबन्धन संकटमा परेको हो ।

सत्तारुढ दलहरुमध्ये नेपाली कांग्रेसले एमसिसी पारित गर्ने नीति सार्वजनिक गरिसकेको छ । कांग्रेसको मंगलबार बसेको कार्यसम्पादन समितिले पनि एमसिसी पारित गर्ने निर्णय गरिसकेको छ । 

तर, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले एमसिसीको विरोध गर्ने भएका छन् । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकको सम्भावित कार्यसूचीमा एमसिसी त छैन तर बैठकमा एमसिसी टेबुल भएमा विरोध जनाउने माओवादी केन्द्रले जनाइसकेको छ । 

माओवादी केन्द्रका जनवर्गीय संगठनहरु एमसिसीको विरोधमा उत्रिइसकेका छन् । उसले जनवर्गीय संगठनहरुलाई एमसिसीको विरोधमा उत्रिन निर्देशन पनि दिइसकेको छ । बुधबार पनि माओवादी केन्द्रका जनवर्गीय संगठनहरुले नयाँ बानेश्वरमा प्रदर्शन गर्ने भएका छन् ।

‘हामी एमसिसीको विरोधमा छौँ, एमसिसीलाई यथास्थितिमा पारित गर्नु हुँदैन भन्ने हाम्रो लाइन हो,’ माओवादी केन्द्रका एक नेताले फरकधारलाई भने, ‘यसमा हामी स्पष्ट भएकाले नै आज हाम्रा संगठनहरु पनि विरोध प्रदर्शनमा सडकमा उत्रिएका  छन् ।’

उनले संसदमा एमसिसी टेबुल भएको खण्डमा आफूहरुले विरोध जनाउने पनि बताएका छन् । यसका लागि माओवादी केन्द्रको संसदीय दलको बैठकले पनि निर्णय गर्ने उनले बताए ।



अर्कोतिर, नेकपा एकीकृत समाजवादी पार्टीले पनि एमसिसीको विरोध गर्ने भएको छ । उसले बुधबार दिउँसो नयाँ बानेश्वरमा एमसिसीको विरोधमा प्रदर्शन गर्दैछ ।

कांग्रेसले चाहिँ यसअघि नै एमसिसी पारित गर्ने रणनीति लिएको छ । कांग्रेसको एउटा रणनीति र माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीको एमसिसीको विरोध गर्ने नीतिका कारण सत्तारुढ गठबन्धन नै अहिले धरापमा परेको छ । सत्तासाझेदार दल जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले त एउटै मुद्दामा पक्ष र विपक्षमा हुँदा सरकारमा दलहरु बस्न नहुने भन्दै ट्विट गरिसकेका छन् ।



‘एमसिसीमा सरकारले लिएको रणनीतिलाई विफल बनाउने हो भने गठबन्धनको अर्थ छैन,’ नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘यसले यो गठबन्धन टुट्न सक्ने सम्भावना बढाएको छ ।’

त्यसो त यसअघि नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एमसिसी संसद बैठकमा टेबुल गराउनेमा सहमति भइसकेको कुरा बाहिर आएको छ । 

एमसिसी संसद बैठकमा टेबुल भएको खण्डमा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरु संसद बैठकमा अनुपस्थित हुने रणनीति उनीहरुले बनाएका थिए । तर, अब माओवादी केन्द्रले संसदमा पनि एमसिसीको विरोध जनाउने निष्कर्ष निकालेको छ ।

  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार १०:३५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया