नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकी सहयोग परियोजना एमसिसीको विपक्षमा कडा रुपमा प्रस्तुत हुने भएका छन् । संसदीय दलको बैठकमा माओवादी केन्द्रका सांसदहरुले उनलाई महाधिवेशनमा एमसिसीबारे बनाएको धारणा स्मरण गराउँदै यथास्थितिमा एमसिसी पारित गर्न नहुने र संसदमा टेबलसमेत गर्न नहुने सुझाव दिएका थिए ।
बुधबार विहान संसदीय दलको बैठक बसेपछि त्यहाँको निर्णय र सन्देश लिएर प्रचण्ड प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।
यसअघि देउवा र प्रचण्डले एमसिसीको केन्द्रीय कार्यालयलाई लेखेको पत्र सार्वजनिक भएको थियो । पत्रमा समयमा नै आफूहरुले एमसिसी संसदबाट अनुमोदन गराउने प्रचण्ड र देउवाले उल्लेख गरेका थिए ।
तर, पछिल्लो समय नेकपा माओवादी केन्द्रले एमसिसीमा आफ्नो धारणा फेरेको छ । यथास्थितिमा एमसिसी पारित गर्न नहुने माओवादी केन्द्रको निर्णय आएको छ । एमसिसीमा आफ्नो असहमति हुँदाहुँदै संसदमा टेबल गरिएको खण्डमा आफूहरुले सरकार छाड्नसमेत सक्ने माओवादी केन्द्रले चेतावनी दिएको छ ।
यस्तो भएको खण्डमा यो सरकारले बहुमत गुमाउने छ । बहुमत गुमाएपछि यो सरकारले मध्यावधि निर्वाचनको घोषणा गर्नु पर्ने देखिन्छ ।
आजको संसदीय दलको बैठकमा प्रचण्डले एमसिसीभन्दा पनि बढी प्रमुख प्रतिपक्ष नेकपा एमालेले गरिरहेको संसद अवरोधलाई हटाउनु पर्नेमा जोड दिएका थिए । उनले एमसिसीमा साझा सहमति हुँदा मात्र टेबल गर्ने विषयमा छलफल पनि गरेका थिए ।
यही सन्देश लिएर बालुवाटार पुगेका प्रचण्डले देउवालाई बुधबारको प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल नगर्न सहमत गराएका छन् । एमसिसीबारे थप निर्णय लिन र छलफल गर्न उनीहरु दुवैले बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धनको बैठक बोलाएका छन् ।
नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलका अनुसार आजको संसदीय बैठकमा चाहिँ प्रचण्डले नै सरकारमा बस्ने या नबस्ने भन्ने विषयमा पनि प्रश्न उठ्ने बताएका थिए ।
एमालेले अवरोध गरिरहेको संसदलाई सुचारु गरेर, सहमति भएपछि मात्र सरकारले एमसिसीको विषयमा थप अगाडि बढ्न सक्ने प्रचण्डले बैठकमा बताएका थिए ।
‘जबरजस्ती एमसिसी टेबल भयो भने हामीले बुझ्नु पर्छ, गठबन्धन तोडिएको हो,’ प्रचण्डले बैठकमा भनेका थिए, ‘यस्तो अवस्थामा हामी सरकारमा रहिरहने भन्ने हुँदैन, हामीले सरकार छोड्ने निर्णय लिएर अगाडि बढ्नु पर्छ ।’
बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले पनि गठबन्धनको सहमतिविना सरकारले एमसिसी टेबल गरे गठबन्धन भत्किने बताएका थिए । ‘गठबन्धन भत्किँदा हामी सरकारमा बस्दैनौँ,’ उनले सन्चारकर्मीसँग बताएका थिए ।
यही विषयलाई लिएर बालुवाटार पुगेका थिए प्रचण्ड । बालुवाटार स्रोतका अनुसार प्रचण्डलाई यसअघि आफूहरुबीच भएको सहमति स्मरण गराएका थिए, प्रधानमन्त्री देउवाले । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउने र संसदमा एमसिसी टेबल गर्ने सहमति देउवा, प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको थियो । तर, संसदमा एमसिसी पारित गर्ने समयमा आफूहरु संसदमा उपस्थित नहुने पनि प्रचण्ड र नेपालले बताएका थिए ।
यस्तो भएको खण्डमा संसदमा उपस्थित संख्याको बहुमतले एमसिसी पारित गर्ने रणनीतिमा पुगेका थिए, देउवा । त्यसका लागि उनले मंगलबार नै कांग्रेसको कार्यसम्पादन समितिको बैठकबाट पनि निर्णय गराइसकेका थिए । त्यसैले कांग्रेसले बुधबार प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गर्नैपर्ने माग सभामुख अग्निप्रसाद सापकोटासँग राखेको थियो ।
तर, बुधबारको भेटघाटमा यो विषयमा देउवा र प्रचण्ड बिहीबार बोलाइएको गठबन्धनको बैठकसम्म केही नगर्ने निर्णयमा पुगेका छन् । बिहीबार गठबन्धनको बैठकले एमसिसीमा गठबन्धनका दलहरुको धारणालाई आधिकारिकता दिने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।