ए डिभिजन लिग : मछिन्द्रलाई लगातार दोस्रोपटक उपाधि, नुर्लानले गरे निर्णायक गोल

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबारको खेलमा लिग लिडर मछिन्द्र क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रले सातदोबाटो युथ क्लबमाथि १-०  को कठिन जित हात पारेको हो ।

यो जितसँगै मछिन्द्रले दुई खेल अगावै लिग उपाधि पक्का गरेको छ । यो उसको दोस्रो लिग उपाधि हो । यसअघि उसले २०७६ मा भएको पछिल्लो संस्करणको  लिग उचालेको थियो । 

मछिन्द्रले एक खेल कम खेलेको दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबमाथि ९ अंकको अग्रता बनाएको छ ।

अब मनाङले बाँकी तीनै खेल जितेर मछिन्द्रले दुवै खेल हार पनि हेड टु हेडको आधारमा मछिन्द्र नै अगाडि रहन्छ ।

५३ औं मिनेटमा नुर्लान नोभ्रुजोभले गोल गर्दै मछिन्द्रलाई जित दिलाउन प्रयाप्त बन्यो । उनले सुनिल बलको क्रसमा देवेन्द्र तामाङको प्रहार सातदोबाटोका गोलरक्षक अभिषेक बराललाई छुँदै पोलमा लागेर फर्किएको बललाई जाली चुमाएका हुन् ।



दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन् ।

२२ औं मिनेटमा रेजिन धिमालको कर्नरमा सुनिल बलको हेडरलाई  गोलरक्षक अभिषेकले बचाउँदा प्राप्त रिवाउन्डमा नुर्लानको हेडरलाई निरज चौधरीले गोललाईनबाट क्लियर गर्दै सातदोबाटोको संकट टारे ।



२४ औं मिनेटमा नुर्लानको क्रसमा विमल घर्तीमगरको हेडरलाई गोलरक्षक अभिषेकले विफल पारे  ।

२९ औं मिनेटमा आकाश बुढामगरको कर्नरमा बनेको मुभलाई मछिन्द्रका गोल  विशाल श्रेष्ठले नियन्त्रणमा लिँदै टोलीको संकट टारे ।

३२ औं मिनेटमा मानबहादुर तामाङको फ्रिकिकमा मार्टिन एडल्फ नान्गाको हेडरलाई गोलरक्षक विशालले पञ्च गर्दै बचाए ।

जितसँगै शीर्ष स्थानमा कायम रहेको मछिन्द्रले ११ खेलमा २९ अंक जोड्दा  पराजित सातदोबाटो समान खेलबाट १५ अंकका छैटौं स्थानमा छ ।

त्यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा  भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब हिमालयन शेर्पासँग १-१ को बराबरीमा रोकिएको छ ।

  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार १५:५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया