एलपिएल प्रतियोगिता एभरेस्ट र सत्यवतीको लगातार दोस्रो जित

धनगढीमा जारी मेयर लिटल फ्लावर प्रिमियर लिग प्रतियोगिता अन्तर्गत तेस्रो दिन सम्पन्न दुईवटा खेलमा कैलाली अत्तरियाको एभरेस्ट एकेडेमी र सत्यवती एकेडेमी विजयी भएका छन् । 

प्रतियोगितामा दुवै टिमको यो लगातार दोस्रो जित हो । धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न तेस्रो दिनको पहिलो खेलमा एभरेस्ट एकेडेमीले सैनिक आवासीय माविलाई ६ विकेटले पराजित गर्यो । सैनिकले दिएको १०४ रनको लक्ष्य एभरेस्ट एकेडेमीले १६ ओभरमा ४ विकेट गुमाएर भेटायो । 

एभरेस्टका लागि रितिक थापाले ३ चौका र १ छक्का प्रहार गर्दै ३६ बलमा सर्वाधिक ४२ रन बनाए । यस्तै कृश ऐरले अविजित २९ रन बनाए । रितिक र कृशले पाँचौँ विकेटको लागि अविजित ६० रनको साझेदारी गरेका थिए । 

सैनिक आवासीयका बलर आकाश चन्दले दुई तथा खडक बोहरा र गौतम केसीले समान एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको सैनिक आवासीयले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०३ रन बनाएको थियो । 

उसका लागि गौतम केसीले सर्वाधिक ३१ तथा सगर चन्दले २१ रन बनाए । एभरेस्ट एकेडेमीका बलर गोविन्द विष्टले सर्वाधिक ३ विकेट, धर्म जोशी र दीपक रोकायाले समान दुई विकेट र कृश ऐरले एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच गोविन्द विष्ट भए । 

दोस्रो खेलमा सत्यवती एकेडेमीले विद्या भुषण पब्लिक स्कुललाई ४ विकेटले पराजित गर्यो । विद्या भूषणले दिएको १२२  रनको लक्ष्य सत्यवतीले १६ ओभरमा भेटायो । 



सत्यवतीको लागि यु–१९ राष्ट्रिय क्रिकेटर समेत रहेका सन्तोष कार्कीले सर्वाधिक ५२ रन बनाए । यस्तै, सुजन गौतमले अविजित ३२ रन बनाए ।आदिल अन्सारीले १८ रनको योगदान दिए । विद्या भूषणको बलिङमा कप्तान शेर मल्लले दुई तथा वीरेन्द्र नाथ र अर्जुन साउदले समान एक विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ गरेको विद्या भूषणले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२१ रन बनाएको थियो । उसका लागि ओपनर प्रदीप चन्दले सर्वाधिक ३४, वीरेन्द्र नाथले २४ तथा नरेन्द्र साउदले १६ रन बनाए । 



अर्जुन साउदले १२ तथा शेर मल्लले ९ रन मात्र बनाउन सके । सत्यवती एकेडेमीका बलर सन्दीप खत्रीले सर्वाधिक तीन विकेट लिँदा आदिल अन्सारी, नीरज भट्ट र युवराज खत्रीले समान दुई विकेट लिए ।

  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार १८:२०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया