एमसिसी विवाद : सडक, संसद र बालुवाटारसम्म दिनभर के-के भयो ?

अमेरिकी सहयोग परियोजना एमसिसीलाई लिएर आज प्रधानमन्त्री बालुवाटारदेखि सडकसम्मको माहोल तातियो । सरकारले एमसिसीलाई संसदमा पेस गर्ने तयारी गरेको भन्दै नेपाल बन्ददेखि सडक प्रदर्शनसम्मका कार्यक्रमको आयोजना गरियो ।

यस्ता कार्यक्रममा सत्ता साझेदार दलका शीर्ष नेताहरूकै सहभागी रह्यो । जसका कारण एमसिसीविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडपको स्थिति बन्यो । प्रदर्शनकारी र प्रहरी बीचको झडपका कारण विशेषतः बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो ।

एमसिसी संसदमा टेबल नगर्न दबाब दिँदै सत्तारूढ माओवादी केन्द्र, एकीकृत समाजवादीका भ्रातृ संगठन सहितका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले पानीका फोहरा, अश्रु ग्यास प्रहार गर्यो ।

त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच ढुंगामुढा र लछारपछार हुँदा केहीबेर बानेश्वर क्षेत्र रणभूमि बन पुग्यो । नयाँबानेश्वर–बबरमहल–माइतीघर सडकखण्डमा प्रदर्शनकारीले एमसिसी संसदमा टेबल नगर्न दबाब दिँदै सरकारविरुद्ध चर्का नारा लगाए ।

आज दिनभर नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र नागरिक समाजका अगुवाको समेत उपस्थितिमा विरोध प्रदर्शन भए । यस क्रममा नेपाल बन्द गराउँदै हिँडेका दर्जनौँ व्यक्तिलाई प्रहरीले पक्राउ गरे । साथै काठमाडौं उपत्यकामा पनि एमसिसीको विरोधमा उत्रिएका सयौँ व्यक्तिलाई प्रहरीले पक्राउ गर्‍यो । यसबीचमा केही प्रहरी पनि घाइते बने ।

एमसिसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्र मतभेद देखियो । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका सत्तारूढ दलको एमसिसी यथास्थितिमा अगाडि बढाउन नहुने अडान र कांग्रेस एमसिसी संसदमा पेस गर्नुपर्ने पक्षमा लाग्दा पछिल्ला दिनमा राजनीतिक माहोल तात्यो ।



प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी टेबुल गर्ने बताएपछि यसबारे निर्णय गर्न भनेर बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसिसी संशोधन नगरी संसदमा पेस गरे त्यसको विपक्षमा मतदान गर्ने निर्णय गर्‍यो ।

संसदीय दलको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगे । सहमतिबिना एमसिसी अगाडि बढाए गठबन्धन स्वत: तोडिने निष्कर्ष पार्टी निकालेको सन्देश लिएर प्रचण्ड देउवालाई भेट्न पुगेका थिए ।



प्रचण्डले सहमतिमै एमसिसी पारित गर्नुपर्ने बताएपछि देउवाले भोलिका लागि सत्ता गठबन्धनको बैठक डाकेका छन् । यो बैठक एमसिसीबारे निर्णायक बन्ने बताइएको छ ।

त्यस्तै, आज संसदमा एमसिसी पेस हुने चर्चाका बीच चलेको प्रतिनिधिसभाको बैठकमा एमालेले आफ्नो अवरोध कायमै राख्यो । सभामुख अग्नि सापकोटाले बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले सांसद सिटबाट उठेर रोस्टममा पुगेर नाराबाजी गरे ।

एमालेको नाराबाजीका बीच चलेको संसद बैठकमा थारू आयोगको प्रतिवेदन र शोक प्रस्ताव पारित भयो । त्यसपछि सभामुख सापकोटाले शुक्रबारसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

सत्तारूढ दलले सहमति जुटाएर आगामी संसद बैठकमा एमसिसी पेस गर्ने सरकारको तयारी छ । संसद भवनबाट बाहिरिँदै गर्दा कानुनमन्त्री दिलेन्द्र बडूले आगामी बैठकमा एमसिसी पेस हुने सुनाए ।

उनले दलहरू बीचको सहमतिमै एमसिसी अघि बढाउनुपर्ने आवश्यकता महसुस गरेरै सरकारले आज र भोलिका लागि समय दिएको बताए । एमसिसीलाई टुंगो लगाउने सार्वभौम संस्था संसद भएकाले त्यही छलफल गरेर टुंगो लगाउन सरकारले चाहिरहेको उनको भनाइ थियो ।

सत्तारूढ एकीकृत समाजवादीका नेता झलनाथ खनालले जबरजस्ती एमसिसी संसद पेस गर्नु नहुने बताए । सम्झौतामा गम्भीर खालका राष्ट्रिय हित विपरीतका प्रावधान रहेको उनको भनाइ । उनले बल प्रयोग गरेर एमसिसी पास नहुने तर्क गरे । सरकारमा रहेर पनि सरकारले ल्याएका गलत कुराको विरोध गर्न पाइने उनको भनाइ छ ।

यता, एमाले नेता भीम रावलले एमसिसीलाई राष्ट्रघाती सम्झौताको संज्ञा दिए ।  उनले एमसिसी नेपालको स्वाधिनता र स्वाभिमान विरोधी भएको पनि सुनाए । उनले एमसीए नेपालले विभिन्न मन्त्रालयसँग सम्झौता गर्न उचित नहुने तर्क गरे ।

माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले एमसिसीमा राष्ट्रिय सहमति जुटाउनु पर्ने बताए । सहमतिपछि संसदमा टेबुल गराइ एमसिसीमाथि गम्भीर छलफल गर्नुपर्ने उनको भनाइ । उनले एमालेले संसद अवरुद्ध गरिरहेकाले एमसिसी पेस गर्न नसकिने जिकिर गरे । उनले संसद पूर्ण रूपमा सञ्चालन भएपछि मात्रै राष्ट्रिय एजेण्डा संसदमा टेबुल गर्न सकिने तर्क गरे ।

एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले एमालेले एमसिसीलाई गिजोलेको आरोप लगाए । उनले एमालेले कार्यव्यवस्था परामर्श समितिको छलफलमा उपस्थित नहुँदा आफू अचम्मित भएको सुनाए ।

उनले तत्कालीन केपी ओली नेतृत्वको सरकारले संसदमा पारित नभइकन कार्यान्वयनका लागि हस्ताक्षर गरेको समेत आरोप लगाए । उनले प्रमुख प्रतिपक्ष दलको हैसियतले एमालेले एमसिसीबारे आफ्नो धारणा स्पष्ट राख्नुपर्ने माग गरे ।

  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार २१:११:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया