प्रचण्डलाई देउवाका तीन विकल्प, पहिलो सरकार छाड्ने

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबल गर्नका लागि कसरत गरिरहेका छन् । यसका लागि उनले अहिलेको सत्तारुढ गठबन्धन फुट्नसमेत सक्ने भन्दै नयाँ विकल्पहरुमाथि पनि गृहकार्य गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नै एमसिसी टेबल गराउने प्रयास गरेका देउवाले अन्तिममा नेकपा माओवादी केन्द्रको निर्णयपछि पछाडि हटेका थिए ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसिसी टेबल गराइएको खण्डमा आफूहरु गठबन्धनबाट अलग हुने निर्णय गरेको थियो, यही निर्णय लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका थिए ।

बालुवाटारमा केही दिनका लागि भए पनि एमसिसी टेबल गर्ने विषय पछाडि धकेल्न प्रचण्डले आग्रह गरे । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पनि यसको विपक्षमा भएको र सडकमा प्रदर्शन भइरहेको विषयलाई मध्यनजर गर्दै देउवाले बुधबारको बैठकमा एमसिसी टेबल गर्ने विषयलाई सार्न तयार भए । यही बैठकमा प्रचण्ड र देउवाबीच बिहीबार दिउँसो गठबन्धनको बैठक बोलाउने निर्णय भएको थियो ।

तर, बिहीबार विहान फेरि प्रचण्ड बालुवाटार पुगे । उनले नेताहरुसँगको छलफल बाँकी रहेको भन्दै बिहीबार दिउँसो बोलाइएको गठबन्धनको बैठक साँझ सार्न अनुरोध गरे । त्यसमा पनि देउवाले सहमति जनाए ।

योबीचमा बिहीबारको गठबन्धनको बैठकअघि प्रचण्ड र नेपाल छलफलमा जुटेका छन् । उनीहरुले एमसिसीबारे गठबन्धनमा के विषयमा अडान राख्ने भन्नेमा छलफल गरिरहेका छन् ।



तर, बिहीबार बिहान देउवालाई बालुवाटारमा भेट्न पुगेका प्रचण्डलाई देउवाले तीन विकल्पमाथि सोच्न आग्रह गरेका छन् ।

देउवाले प्रचण्डलाई दिएको पहिलो विकल्प हो– सरकार छाड्न सक्नुहुन्छ ।



यसअघि बुधबार नै नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकको निर्णय सुनाउन प्रचण्ड बालुवाटार पुगेका थिए । एमसिसी टेबल भएमा आफूहरु गठबन्धनबाट अलग हुने माओवादी केन्द्रका नेताहरुले बताइरहेका छन् ।

‘हामी सरकारमा बसिरहनु ठिक हुँदैन, गठबन्धनबाट अलग हुनु भनेको सरकार छोड्नु हो,’ नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले फरकधारलाई बताए, ‘हामीले सरकार छोड्छौँ भन्ने पहिलो सर्त राखेका होइनौँ, एमसिसी यथास्थितिमा पारित हुनु हुँदैन भन्ने हो ।’

प्रचण्डको यो निर्णय सुनेपछि देउवाले बिहीबार बिहान सरकार छाड्ने भए माओवादी केन्द्रले सरकार छाड्न सक्ने बताएका छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकार छाडेको खण्डमा आफू एमालेसँग नयाँ गठबन्धन गरेर अगाडि बढ्ने रणनीतिमा देउवा छन् ।

एमसिसीको विषयमा मतभेद बढ्न थालेपछि देउवाले प्रचण्डलाई दिएको अर्को विकल्प हो– संसदमा अनुपस्थित हुने । यस विषयमा यसअघि देउवा, प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सहमति समेत भइसकेको थियो ।

एमसिसीलाई पारित गर्न यी प्रचण्ड र नेपालले आफूहरु संसदमा अनुपस्थित हुने र उपस्थित संख्याको आधारमा बहुमतले एमसिसी पारित गर्ने रणनीतिमा यी तीन नेताको सहमति भएको थियो । यही सहमतिपछि यी तीन दलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग प्रस्तावसमेत दर्ता गरेका छन् ।

तर, पछिल्लो समय अध्यक्ष प्रचण्ड पनि यो सहमतिबाट पछाडि हटेका छन् । ‘संसदीय अभ्यासमा हामी आइसकेपछि संसदमा अनुपस्थित हुने भन्ने कुरा नै हुँदैन,’ गजुरेलले भने, ‘हामी संसदमा नै जान्छौँ, एमसिसीको विरोधमा बरु हाम्रो मत रहन्छ ।’

बिहीबार विहानको भेटमा देउवाले प्रचण्डलाई दिएको अर्को विकल्प हो– एमसिसीको विपक्षमा उभिनोस् ।

यसअघि एमसिसी कार्यालयलाई चिठी लेखेर देउवा र प्रचण्डले प्रतिबद्धता गरेका छन्– एमसिसी समयमा नै पारित गर्नेछौँ । तर, पछिल्लो समय प्रचण्ड यसबाट पनि पछाडि हटेका छन् ।

उनले पार्टीभित्र आफूलाई दबाब बढेको भन्दै एमसिसीको समयसीमा केही पछाडि धकेल्न अनुरोध गर्ने प्रयास गरिरहेका छन् । तर, यसमा अमेरिकाले स्पष्ट रुपमा आफ्नो सहमति नहुने जनाइसकेको छ ।

यस्तो अवस्थामा देउवा संसदमा एमसिसी जसरी पनि टेबल गर्न चाहन्छन् । एमसिसी जसरी पनि टेबल गर्न चाहेका देउवाले त्यसैले प्रचण्डलाई यसको विपक्षमा उभिन पनि माओवादी केन्द्र स्वतन्त्र भएको बताएका हुन् ।

देउवाले एमसिसी पारित गर्न तथा संसदमा टेबल गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पनि सहजीकरण गर्न अनुरोध गरिदिन प्रचण्डलाई आग्रह गरेका छन् । संसदमा एमसिसी टेबल गर्नका लागि अर्थमन्त्रीले टेबुल गर्नु पर्ने हुन्छ । त्यसपछि मात्र एमसिसी पास र फेलको प्रक्रियामा अगाडि जान्छ ।


  • प्रकाशित मिति : फागुन ५, २०७८ बिहीबार १६:८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया