१ वैशाखमा गौतमबुद्ध विमानस्थलको शुभारम्भ हुन्छ : मन्त्री आले

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी १ वैशाखदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शुभारम्भ गरिने बताएका छन् ।

१५ फागुनसम्म यान्त्रिक परीक्षण उडान हुने र त्यसको रिपोर्ट आइसकेपछि १ वैशाखदेखि नयाँ विमानस्थलको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शुभारम्भ गरिने मन्त्री आलेको भनाइ छ ।

विमानस्थलको निरीक्षण गर्न शनिबार भैरहवा आएका मन्त्री आलेले विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भइसकेपछि नेपाल एयरलाइन्सको ध्वजाबाहक विमान वाइडवडीबाट परीक्षण उडान गरिने जानकारी दिए । उनले यान्त्रिक परीक्षण उडानको मिति १५ फागुनका लागि तोकिएको भए पनि त्यसअघि नै गर्न पाउँदा खुशी लागेको बताए ।

५६ दिनमा क्यालिब्रेसन फ्लाइटको रिपोर्ट आउने भए पनि आफूले विमानस्थल आयोजना तथा एरो थाई कम्पनीका परियोजना निर्देशक तथा नेपाल प्रतिनिधिलाई अहोरात्र खटेर ४२ दिनमै रिपोर्ट पेश गर्न अनुरोध गरेको उनले बताए ।

अब बुद्ध जयन्तीमा विभिन्न देशका बौद्ध धर्मावलम्बीहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोझै आउने उनको भनाइ छ । उनले विमानस्थलको दोस्रो चरणको कामका लागि अर्थमन्त्रीसँग कुराकानी भैरहेको पनि बताए । दोस्रो चरणअन्तर्गत बन्ने दोस्रो टर्मिनल भवनका लागि छिटै टेण्डर प्रक्रिया अगाडि बढ्ने उनले जानकारी दिए ।

लुम्बिनी विकास गुरुयोजनाको काम १९ प्रतिशत रहेको र बाँकी रहेका काम सम्पन्न गर्न अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित गरेर अगाडि बढाउने मन्त्री आलेको भनाइ छ । अब छिटै गुरुयोजनाका बाँकी काम सम्पन्न गरिने पनि उनले बताए ।





  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार १६:४८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया