दिनभर : एमसिसीबारे अमेरिकाको विज्ञप्तिदेखि गठबन्धनलाई ओलीको चेतावनीसम्म

नेकपा एकीकृत समाजवादी अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)को विषयमा लचिलो बनेको छ ।

यथास्थितिमा संसदमा टेबुल गर्न नदिने अडान लिएको एकीकृत समाजवादी शनिबार बसेको स्थायी कमिटी बैठकपछि एमसिसीलाई टेबुल गराएर सघन छलफल गर्न तयार भएको हो ।

एकीकृत समाजवादीको यो निर्णयसँग भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसी पेस हुने सम्भावना बढेको छ । यद्यपि, आज संघीय संसद् सचिवालयले निकालेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसिसी समावेश गरिएको छैन ।

त्यसो त भोलि बिहानका लागि सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था समितिको बैठकले प्रतिनिधिसभाको सम्भावित कार्यसूचीबारे छलफल गरेर निर्णय लिने छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसीलाई जतिसक्दो चाँडो संसदमा टेबुल गराउने कसरतमा लागेका छन् । एमसिसी पारित गर्ने समयसीमा नजिकिँदै गर्दा सत्ता गठबन्धनका दलहरूको आलटाल र अमेरिकाको ताकेताका कारण यतिबेला प्रधानमन्त्री दबाबमा छन् ।

साथै एमसिसीबारे दलहरूले निर्णय लिन नसक्दा अमेरिका-चीन आमने-सामने हुने अवस्था देखिएको छ । एमसिसीलाई लिएर अमेरिकाले नेपालमा 'धम्की कूटनीति' प्रयोग गरेको भन्दै चीनले विरोध जनाउने अभिव्यक्ति दिएको विवरण शुक्रबार सार्वजनिक भएका थिए ।



त्यसको भोलिपल्ट अमेरिकाले शनिबार एक विज्ञप्ति जारी गर्दै एमसिसी अनुमोदन गर्ने अधिकार नेपालको भएको बताएको छ । यस विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने मौन छ ।

आज दिनभरका महत्त्वपूर्ण समाचार



नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) स्थायी कमिटीले एमसिसीलाई जस्ताको तस्तै अनुमोदन गर्न गर्न नसकिने भए पनि संसदमा सघन छलफल गर्न तयार हुने निर्णय गरेको छ । बैठकपछि विज्ञप्ति जारी गर्दै नेकपा एसका महासचिव डा. बेदुराम भुसालले बैठकमा वर्तमान राष्ट्रिय परिस्थित र एमसिसीका बारेमा छलफल भएको जानकारी दिएका छन्।

नेकपा एसका महासचिवको विज्ञप्ति - एमसिसीबारे संसदमा छलफल गर्न तयार छौँ

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने/नगर्ने नेपालको सार्वभौम निर्णय हुने प्रस्ट पारेको छ । नेपालस्थित अमेरिकी दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै ५० करोड डलर बराबरको यो एमसिसी परियोजना अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय नेपालको हुने प्रस्ट पारेको हो ।

एमसिसी अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय नेपालले गर्ने हो : अमेरिका

आइतबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दै छ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसिसी सम्झौताबारे केही उल्लेख छैन । 

संसद् बैठक : भोलिको सम्भावित कार्यसूचीमा पनि परेन एमसिसी

एमसिसी परियोजना संसदबाटै पारित गर्नुपर्ने दबाब प्रधानमन्त्री देउवालाई छ । तर, एमालेले लामो समयदेखि सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै संसद अवरोध गर्दै आएको छ । 

यसबीचमा सभामुख र प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक पनि एमालेले अवरोध गरेको थियो । निरन्तर बैठकमा आह्वान गर्दा पनि उपस्थित नभएपछि देउवा आफैँ ओलीलाई भेट्न बालकोट पुगेका थिए । 

पहिलो पटक सत्ता गठबन्धनकै सल्लाहमा देउवा बालकोट पुगेका थिए । तर, एमसिसीबारे सत्तारूढ गठबन्धनमा सहमति जुट्न नसक्दा देउवाले ओलीको साथ खोज्न थालेका छन् । 

एमाले निकट स्रोतका अनुसार आफ्ना केही सर्तहरू पूरा गरेको खण्डमा ओलीले देउवालाई एमसिसी पारित गराउन घसाउनेछन् । तर, यसबारे स्पष्ट बोली भने एमालेले बोलेको छैन् । 

एमसिसीबारे अमेरिका र चीन बोल्दा एमाले मौन

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले एमसिसीको विपक्षमा मतदान गर्न रुपन्देहीका संघीय सांसदलाई आग्रह गरेको छ । जिल्लाका सातजना सांसदलाई युवा संगठनले एमसिसीको विपक्षमा मतदान गर्न पत्र बुझाएको हो ।​

एमसिसीको विपक्षमा मतदान गर्न गृहमन्त्रीसहित सात सांसदलाई विप्लवनिकट युवा संगठनको पत्र (पत्रसहित)

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित गर्नका लागि अमेरिकाले आफ्नो शक्ति प्रयोग गरिरहेको बताएका छन् । 

शनिबार बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रधानमन्त्री शेरबहादुर देउवा र केपी ओलीलाई मिलाएर एमसिसी पास गराउन अमेरिका लागि परेको बताए।

एमसिसी पास गराउन अमेरिका एमालेको पछि लागेको छ : चित्रबहादुर केसी

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताएका छन् । 

कांग्रेस विराटनगर महानगरपालिका वडा नं ९ ले प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमसिसी परियोजना नेपालको हितमा रहेकोबारे जनतालाई बुझाउनुपर्नेमा जोड दिए ।

एमसिसी आउँदैमा मुलुकमा विदेशी सेना आउँदैन : शेखर कोइराला

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसिसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गरेका छन् । शनिबार राजधानीमा आयोजित पत्रकारसँग कुराकानी गर्दै उनले दलहरुले एमसिसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको बताएका हुन् ।

हाम्रा नेताले दिनहुँ बोली फेर्दा विदेशी निकाय सल्बलाउन थाले : कांग्रेस उपसभापति गुरुङ

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी रेड कार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्तको दलहरूलाई सुझाव - रातो कार्ड देखाउनुपर्ने अवस्था सिर्जना नहोस्

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयु बढीमा एक वर्ष मात्रै रहेको दाबी गरेका छन् । अध्यक्ष ओलीले अब एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हट्ने बताएका हुन् । शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई स्वार्थी भन्दै उनीहरूलाई आगामी निर्वाचनमा पानीमुनि गए पनि आफ्नो पार्टीले नछाड्ने चेतावनी दिए ।

गठबन्धनलाई आगामी निर्वाचनमा पानीमुनि गए पनि नछाड्ने ओलीको चेतावनी

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टीतेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो । 

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार २१:३९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया