फागुन १९ बाट तीन दिन धनगढीमा विश्व नेपाली साहित्य महोत्सव हुने

विश्व नेपाली साहित्य महोत्सव धनगढीमा फागुन १९, २० र २१ गते सञ्चालन हुने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा महोत्सव हुन लागेको हो ।

समाजले प्रत्येक वर्ष धनगढीमा महोत्सवको आयोजना गर्दै आएको छ । यो महोत्सवको दोस्रो संस्करण हो । ७१औँ प्रजातन्त्र दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यमा समाजमा आयोजित कार्यक्रमकाबीच महोत्सव आयोजना गरिने आयोजकले जानकारी दिएको हो ।

‘काली–कर्णाली क्षेत्रको गौरव गाथालाई आत्मसात् गर्दै भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि हामीले प्रत्येक वर्ष महोत्सवको आयोजना गर्दै आएका छौँ,’ समाजका अध्यक्ष रामलाल जोशीले भने, ‘गत वर्ष विश्वभरिका नेपालीभाषी साहित्यकारको सहभागितामा राष्ट्रपतिले महोत्सवको उद्घाटन गर्नुभएको थियो । हामीले यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिन खोजेका हौँ ।’ यस कार्यक्रमले सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्ने उनले बताए ।

देशका कवि, लेखक, साहित्यकार, पत्रकार, कलाकार र बुद्धिजीवीलाई कार्यक्रममा आमन्त्रण गरिएको जोशीले बताएका छन् । यसका साथै देशबाहिर रहेका नेपालीभाषी साहित्यकारलाई पनि कार्यक्रममा आमन्त्रण गरिएको उनले बताए ।

यस्तै, कार्यक्रम संयोजक लोक देउडा गायक यज्ञराज उपाध्यायले नेपाली भाषा, साहित्यको विकास गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताएका छन् । सधैँ केन्द्रकै मुख ताक्नुभन्दा आफ्नो कला, संस्कृतिको विकासका लागि स्वयं आफैँ जाग्नुपर्ने उनले बताएका छन् ।

‘हामी जाग्यौँ भने राज्य सहयोग गर्न बाध्य हुन्छ । त्यसैले हाम्रो कला, संस्कृतिको विकासका लागि हामी आफैँ जाग्नुपर्छ,’ उपाध्यायले भने । उनले अघिल्ला कार्यक्रममा जस्तै यस वर्ष पनि सबैको साथ–सहयोग पाउने विश्वास व्यक्त गरेका छन् ।





  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार २१:५१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया