नेकपा एमालेका नेता भीमबहादुर रावलले एमसिसी सम्झौतालाई संसदमा टेबल गर्नु गैरजिम्मेवार विषय भएको बताएका छन् । प्रतिनिधिसभाको बैठक सुरु भएपछि समय लिँदै बोलेका रावलले राजनीतिक दलहरूबीच सहमति नभई सार्वभौम संसदमा कसरी टेबल भयो ? भनि प्रश्न गरेका छन् ।
‘नेपाली जनता सार्वभौम संसदले स्वाधिनताको पक्षमा काम गर्छ कि, राष्ट्रघाती सम्झौता एमसिसीलाई स्वीकार गर्छन् भनेर हेरिरहेका छन्’ रावलले अघि भने, ‘पृथ्वीनारायण शाहले देशको एकीकरण गर्नेदेखि कसैको अधिनमा नगएको नेपाल आज हाम्रो संविधान मिचिने, स्वतन्त्र परराष्ट्र नीतिमा आघात पर्ने सम्झौतालाई कसरी राजनीतिक दलहरुबीच सहमति नभई सार्वभौम संसदमा कसरी टेबल भयो ? यो एकदम गैरजिम्मेवार काम हो ।’
एमसिसीको विषय राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित भएको भन्दै उनले भनेका छन्, ‘जुन विषय नेपालको स्वाधीनतासँग सम्बन्धित छ । यति गम्भीर विषयमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरिरहेको, सरकारमा रहेका राजनीतिक दलहरू बीचमा सहमति नभएको अवस्थामा टेबल गर्ने कुरा आपत्तिजनक छ ।’
सत्तारुढ गठबन्धनमा सहमति नभएपछि यसअघि यो सम्झौता टेबुल हुन सकेको थिएन । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बसेकै बैठकमा एमसिसी सम्झौता टेबुल गर्ने पक्षमा थिए । तर, सहमति नजुट्न शुक्रबार यो संभव भएको थिएन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।