एमसिसीमा देउवा र कार्कीको संयोग : हस्ताक्षरदेखि संसदमा टेबुलसम्म

विवादकाबीच सरकारले आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) सम्झौता अनुमोदनको लागि टेबुल गर्यो । 

खासमा त्यो सम्झौता अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा टेबुल गर्नुपथ्र्यो । शर्मा विरामी भएको कारण उपस्थित हुन नसकेपछि शुक्रबार एमसिसी सम्झौता सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा बैठकमा टेबुल गरेका थिए । 

संयोग नै मान्नुपर्छ– प्रतिनिधिसभा बैठकमा एमसिसी टेबुल गरेका कार्कीले नै अर्थमन्त्रीको रुपमा नेपालको तर्फबाट एमसिसी सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यति मात्र होइन कार्कीले सम्झौतामा हस्ताक्षर र प्रतिनिधिसभा बैठकमा टेबुल गर्दा दुबै बेला देशको प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा रहेका छन् । 

२०७४ साउन १० गते एमसिसी सहायता स्वीकार गर्ने विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न स्वीकृति दिइएको थियो । उक्त समयमा प्रधानमन्त्री देउवा र अर्थमन्त्री कार्की रहेका थिए । 

२०७४ भदौ १९ गते एमसिसी सम्झौतामा हस्ताक्षर गर्न तत्कालिन अर्थमन्त्री समेतको टोलीलाई अख्तियारी दिने सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । यो निर्णय गर्दा प्रधानमन्त्रीमा देउवा र अर्थमन्त्रीमा कार्की थिए । 

२०७४ भदौ २९ गते नेपालले एमसिसीमा हस्ताक्षर गरेको थियो । त्यतिबेला देशको प्रधानमन्त्री देउवा र अर्थमन्त्री कार्की नै थिए । एमसिसीमा नेपालको तर्फबाट कार्कीले हस्ताक्षर गरेका थिए । 



तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० गते एमसिसी अनुमोदनको लागि संसदमा दर्ता गरेको थियो । राजनीतिक पार्टीहरूबीच सहमति बन्न नसक्दा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा अनुमोदनको लागि टेबुल गर्न सकेन । 

प्रतिनिधिसभामा दर्ता भएको ३० महिनापछि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आइतबार एमसिसी प्रतिनिधिसभामा टेबुल गर्न सत्ता साझेदार पार्टीहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)सँग सहमति कायम गरेका थिए । 



त्यसपछि आइतबार नै बसेको प्रतिनिधिसभा बैठकमा एमसिसी अनुमोदनको लागि टेबुल गरिएको थियो । एमसिसी अर्थ मन्त्रालयसँग सम्बन्धित रहे पनि टेबुल भने सञ्चारमन्त्री कार्कीले गरेका थिए । विरामी भएको कारण देखाउँदै अर्थमन्त्री शर्मा प्रतिनिधिसभामा उपस्थित नभएपछि कार्कीले एमसिसी टेबुल गरेका थिए । न्युज कारखाना

  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १६:३९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया