एलपिएल प्रतियोगिता–६ : हिमालयन ह्वाइट हाउस र विद्याभूषण विजयी

लिटल फ्लावर प्रिमियर लिग (एलपिएल–६) क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएका दुई खेलमा काठमाडाैंको हिमालयन ह्वाइट हाउस स्कुल र विद्याभूषण गेटा विजयी भएका छन् । 

पहिलो खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले कञ्चनपुरको शारदा सरस्वती दोधारामाथि ७९ रनको सानदार जित निकाल्यो । टस हारेर ब्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको शारदाका कुनै पनि ब्याट्सम्यान हिमालयनका बलरसामु टिक्न सकेनन् । 

उसले १७.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । शारदाका मिलन बोहराले १९, गणेश बिटालुले १४ र सागर चन्दले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहाेरो अंक छुन सकेनन् । 

शारदालाई सस्तैमा समेट्न हिमालयनका राहुल भण्डारीले महत्वपूर्ण ४ विकेट लिए । सन्दीप शाहले २, अनुप कुँवर, सन्दीप शाही, नारायण जोशी र दीपक बोहराले १/१ विकेट लिए । यसअघि हिमालयनका लागि दीपक बोराको जोडीले ५० रनको साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए । दीपक बोहरा (सिनियर)ले ३० बलमा ५ चौका र २ छक्काको मद्दतले ४८ रन बनाए । अर्का दीपकले २० बलको सामना गर्दै ३ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाएर आउट भए । 

हिमालयनका लागि राहुल भण्डारीले २ छक्का र २ चौकासहित ३० बलमा ४० रनको पारी खेल्दा, वसन्त कार्की २० र अनुप कुँवरले १७ रन बनाए ।
 
शारदाका लागि बलिङ तर्फ मिलन बोहरा र अर्जुन सिंह साउदे समान २/२ तथा गणेश बिटालु, प्रेम थापा र विकास सुनारले १/१ विकेट लिए ।   

खेलको प्लेयर अफ दी म्याच अलराउण्ड प्रदर्शन गरेका राहुल भण्डारी घोषित हुँदा गेम चेन्जर अवार्ड पनि उनैले पाए । सर्वाधिक छक्काको अवार्ड भने दीपक बोहरा सिनियर, राहुल भण्डारी, वसन्त कार्की र अनुप कुँवरले पाए । 



आइतबार भएको दोस्रो खेलमा विद्याभूषण पब्लिक स्कुलले आयोजक लिटल फ्लावरलाई ५५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको विद्याभूषणले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो । १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरका कुनै पनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । 

उसले १७.६ ओभरमा अल आउट हुँदै ८८ रन मात्रै बनाउन सक्यो । टिमका लागि विपिन रावलले ३३ बलमा ३० रन बनाउँदा नरेन भट्टले १९ र प्रकाश जैशीले १५ रन बनाएर आउट भए । बलिङतर्फ विद्याभूषणका कप्तान शेर मल्लले ४, प्रदीप चन्दले ३, अर्जुन साउद, वीरेन्द्र नाथ र नरेन साउदले १/१ विकेट लिए । 



यसअघि विद्याभूषणका लागि वीरेन्द्र नाथले २६ बलमा ३४, प्रदीप चन्दले २३ बलमा ३०, सुरेन्द्र ऐरीले १७, नरेन साउद १४ र  कप्तान शेर मल्ल १० रन बनाएर आउट भए । बलिङतर्फ लिटल फ्लावरका पुष्कर बडुले कसिलो बलिङ गर्दै ३ ओभरमा ३ विकेट लिएर १९ रन दिए । 

प्रकाश जैशीले २, सुवास ऐर र नरेन भट्टले १/१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच प्रदीप चन्द चुनिए । सर्वाधिक छक्काको अवार्ड प्रदीप चन्द र वीरेन्द्र नाथले पाउँदा गेम चेन्जर अवार्ड पनि वीरेन्द्र नाथले नै पाए ।

  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १९:२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया