अस्ट्रेलियाले दुई वर्षपछि खोल्यो अन्तर्राष्ट्रिय यात्रुका लागि सीमा

अस्ट्रेलियाले दुई वर्षपछि पहिलोपटक आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ । कोरोनाभाइरस विरुद्ध पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो । 

कोभिडको कारण देखाउँदै सन् २०२० को मार्चमा बन्द गरेपछि देशमा यात्रासम्बन्धी कडा प्रतिबन्ध लगाइएको थियो । अस्ट्रेलियालीहरू र अरू केहीलाई गत वर्षको अन्त्यबाट फर्कन अनुमति दिइएको थियो । तर, अधिकांश विदेशी फर्किन पाएका थिएनन् ।

सयौं मानिस उडानमार्फत आउन थालेपछि सिड्नी विमानस्थलमा सोमबार मानिसहरूको भावपूर्ण पुनर्मिलन भएको थियो । सोमबार साँझसम्म अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अनुमान गरिएको छ । 

‘सरकारले अस्ट्रेलियालीहरूको स्वास्थ्यलाई सुरक्षित राख्दै आर्थिक सुधारलाई सुनिश्चित गर्नेछ,’ सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नयाँ व्यवस्थाअनुसार खोपको पूर्ण मात्रा लगाएका यात्रुहरू क्वारेन्टिनमा बस्नुपर्ने छैन । तर, खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटलमा बस्नुपर्ने हुन्छ ।

उनीहरू वेस्टर्न अस्ट्रेलियाबाहेक सबै राज्यमा आवत जावत गर्न पाउनेछन् । अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेशको अनुमतिसँगै पर्यटकहरूको प्रवाह बढ्ने विश्वास गरिएको छ ।

सन् २०१९ मा अस्ट्रेलियामा झण्डै ९५ लाख विदेशी पर्यटकले अस्ट्रेलियाको भ्रमण गरेका थिए । अस्ट्रेलियामा कोभिडका कारण अहिलेसम्म करिब ४ हजार ९०० जनाको मृत्यु भएको छ ।  





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १०:५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया