मतदानस्थलमा जबरजस्ती गाडी घुसाउने प्रयास गरेपछि सोनु सुदको गाडी नियन्त्रणमा

बलिउड अभिनेता सोनु सुदको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पञ्जाबमा भएको एक सय १७ सदस्यीय विधान सभा चुनावको मतदानस्थलमा जबरजस्ती गाडी घुसाउने प्रयास गरेपछि उनको गाडीलाई नियन्त्रणमा लिइएको हो ।

यसपटकको चुनावमा सोनुकी बहिनी माल्भिका कंग्रेसको टिकटमा मोगाबाट चुनाव लडिरहेकी छन् । बहिनीको प्रचारका लागि सोनु अहिले पञ्जाबमा छन् । यहीबीचमा उनी मतदान भइरहेको स्थानमा गाडी लिएर जाने प्रयास गरिरहेका थिए ।

मोगा जिल्लाका पिआरओ प्रभदीप सिंहले सोनु जबर्जस्ती मतदानको बुथमा पस्ने प्रयास गरेकाले उनको गाडीलाई नियन्त्रणमा लिएर घर पठाइएको बताए । सोनुले पुनः गाडीलाई बाहिर निकाले कारवाही हुने उनले जानकारी दिए ।

यता सोनुले भने आफूहरू निष्पक्ष चुनाव चाहेकोले विभिन्न बुथमा विपक्षी दल अकालीका कार्यकर्ताले फोनमा धम्क्याउँदै भोट खसाउन लगाएको थाहा पाएर त्यसको अनुगमनमा गएको दाबी गरे । 

‘केही बुथमा पैसा बाँडिएको छ । हाम्रो यो कर्तव्य हो कि हामी त्यसको अनुसन्धान गरौं र निष्पक्ष चुनाव सुनिश्चित गरौं । त्यहीकारण म त्यहाँ गएको थिएँ’, उनले भनेका छन् ।

सोनुले मोगाका अर्का दलका उम्मेदवारले मतदातासँग भोट किनिरहेको आरोप लगाए । उनले यो मामलामा तुरुन्त एक्सन लिन प्रशासनसँग आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार ११:४३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया