मन्त्री भारत भ्रमणमा गएपछि मधेस प्रदेशसभा बैठक स्थगित

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि मधेस प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित भएको छ ।

प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न १० फागुनका लागि बोलाइएको बैठक मन्त्री साह अनुपस्थित हुने भएपछि २२ गतेसम्मका लागि स्थगित हुन पुगेको हो ।

‘आफैँ प्रस्तावक भएकाले संकल्प प्रस्तावका बारेमा भएका छलफल सुन्नुपर्ने र जवाफ दिनुपर्ने हुन्छ । तर, म पूर्वनिर्धारित कार्यक्रमअनुसार पारिवारिक भ्रमणका लागि भारतको राँची आएको छु,’ साहले  भने, ‘प्रहरी भर्नाका बारेमा प्रदेश सरकारले सर्वोच्च अदालतमा मुद्दा दायर तथा म स्वयं बाहिर भएकाले बैठक सहमतिको आधारमा २२ गतेसम्मका लागि स्थगित गरिएको छ ।’ 

उनका अनुसार १८ फागुनका स्वदेश फर्केपछि संकल्प प्रस्तावका बारेमा छलफलको प्रक्रिया अघि बढाइनेछ । सञ्चारमन्त्री साहले गत २६ माघमा पेस गरेको सो प्रस्ताव बारेमा छलफल गर्न प्रदेशसभाको बैठक आज अपराह्न २ बजेका लागि बोलाइएको थियो । 

गत १ फागुनमा सो विषयमा छलफल गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै स्थगित भएको बैठक कार्यसूचीमा छलफल ९ दिनपछि पुनः सुरु हुने तय भएको थियो । तर, सर्वोच्च अदालतमा परेको मुद्दा र मन्त्रीको पारिवारिक भारत भ्रमणका कारण संकल्प प्रस्तावमाथिको छलफल थप १२ दिनपछि धकेलिएको छ । 





  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार १०:३२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया