जसपाको प्रस्ताव : प्रदेश-१ को नाम ‘किरात-लिम्बुवान-मधेस-शेपालुङ प्रदेश राखौँ

जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश–१ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ । 

पछिल्लो समय प्रदेश–१ को नामाङ्‍कनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानका आधारमा ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने बताएको हो । 

जसपा प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले आज विज्ञप्ति जारी गरी प्रदेश नामकरण सम्बन्धमा २०७७ साल असोज २३–२४ गते नै निर्णय गरिएको स्मरण गराउँदै प्रदेश–१ को नामकरण पहिचानका आधारमा नै हुनुपर्दछ भन्नेमा जसपा स्पष्ट र प्रतिबद्ध रहेको उल्लेख छ । 

‘मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पृष्ठभूमि, पहिचानको मागलाई सम्बोधन गर्दै प्रदेश नं १ लाई ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ नामकरण गर्नुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ । पूर्ण सङ्घीय नेपाल निर्माणका लागि जसपाले निरन्तर सडक र सदनबाट दबाब दिने कार्य गरेको र आफ्नो सरकार रहेको मधेस प्रदेशमा कार्यान्वयनसमेत गरेर देखाएको विज्ञप्तिमा जनाइएको छ । 

हाल प्रदेशको नामकरणबारे भइरहेको बहस र छलफलले राजनीतिक सरगर्मी ल्याएको भन्दै जसपाले पछिल्लो राजनीतिक घटनाक्रमहरूलाई स्वागतयोग्य भन्दै गम्भीरताका साथ लिएको उल्लेख छ । 

आज नै प्रदेश–१ सरकारले प्रदेशको नामकरणबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ । मुख्यमन्त्रीको कार्यालय विराटनगरमा डाकिएको सर्वदलीय बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरू, संसदीय दलका नेताहरू सहभागी हुँदैछन् ।   





  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार १३:१५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया