महेश बस्नेत भन्छन् - पार्टीले भीम रावलसँग स्पष्टीकरण सोध्छ

नेकपा एमालेका नेता, पूर्वमन्त्री एवं राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय इन्चार्ज महेश बस्नेतले भीम रावलसँग स्पष्टीकरण सोध्ने बताएका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता बस्नेतले एमालेले विरोध जनाइरहेका बेला नेता रावलले संसदमा समय लिएर बोलेको विषयमा पार्टीले उनीसँग प्रस्टिकरण लिने बताएका हुन् । 

‘भीम रावलले पनि पार्टी पद्धति र दलीय व्यवस्थालाई स्वीकार गर्न सक्नुभएको छैन । व्यक्ति हिरो बन्ने र व्यक्तिको अहमता अनेक माध्यमबाट प्रकट गर्ने उहाँको त्यो शैलीलाई उहाँले फेरि प्रकट गर्नुभएको छ । मलाई लाग्छ पार्टीले सभामुखज्युसँग पनि यसको बारेमा एक्सन लिने छ र भीम रावलसँग पनि पार्टीले स्पष्टीकरण सोध्छ भन्ने लाग्छ’ उनले भने,

उनले पार्टीले कारबाही गरेका सांसदको सूचना ननिकाल्नेदेखि लिएर संसद्को रोस्टम घेरिराखेको अवस्थामा नेता रावललाई बोल्न दिएको विषयमा एमालेले सभामुखविरुद्ध पनि एक्सन लिने बताए । नेता बस्नेतले बहुदलीय व्यवस्थामा संसद्‍भित्र बोल्न सांसदले शून्य समयबाहेक दलले समय माग नगरी बोल्न नपाउने स्पष्ट पार्दै सभामुख सापकोटाले आफूलाई गुरिल्ला सभामुख भएको पुष्टि गरेको आरोप लगाए ।

‘बहुदलीय व्यवस्थामा संसद् भित्र बोल्ने कुरामा सांसदहरूले शून्य समयमा दलको स्वीकृति बिना बोल्न पाउँछन् । अन्य अवस्थामा सांसदहरूले दलको स्वीकृति बिना समय माग नगरी बोल्न पाउँदैनन्,’ बस्नेतले भने, ‘सभामुखज्युले शून्य समय नचलिरहेको अवस्थामा र एमालेले संसद् घेरिरहेको अवस्थामा जुन ढङ्गले भीम रावल कमरेडलाई बोल्न दिनुभएको छ । त्योचाहिँ सभामुखज्युले संसदीय पद्धति र बहुदलीय व्यवस्था भन्दा फरक ढङ्गले जानुभएको र उहाँ एउटा अधिनायकवादी राज्य सत्तालाई स्थापना गर्न लागेको गुरिल्ला सभामुख हो भन्ने कुरालाई फेरी पुस्ट्याइँ गर्नुभएको छ  ।’

नेता बस्नेतले सभामुख सापकोटा अधिनायकवादी राज्यसंस्था स्थापना गर्नुपर्छ भन्ने चाल–चलनबाट आएको आरोप लगाउँदै उनलाई अर्जुन लामालगायतका व्यक्तिहरूको हत्या अभियोगसमेत लागेको बताए । ‘सभामुखज्यु चाहिँ अधिनायकवादी राज्य संस्था स्थापना गर्नुपर्छ भन्ने मोभमेन्टबाट आएको र अर्जुन लामा लगायतका अन्य धेरै हत्याका अभियोगहरू लगेको सन्दर्भमा उहाँले बहुदलीय व्यवस्था र दलीय सिस्टमलाई आत्मसाथ गर्न सक्नुभएको छैन ।’

उनले पत्रकार सम्मेलनमा एमालेले एमसिसीका बारेमा अझै धारणा बनाइ नसकेको बताए ।





  • प्रकाशित मिति : फागुन १०, २०७८ मंगलबार १४:२५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया